जनता टाइम्स

२४ असार २०८०, आईतवार १४:५५

सभामुख घिमिरेसँग कतारका राजदूतको बिदाइ भेट


काठमाडौं, २४ असार । सभामुख देवराज घिमिरेसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले आइतबार बिदाइ भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध, नेपाली श्रमिकको रोजगार सुरक्षा, व्यापार, उड्डयन, संसदीय आदान प्रदान लगायतका विषयमा कुराकानी भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

सात वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेका राजदूत अल–हेलले सभामुख घिमिरेसँग बिदाइ भेट गर्नुभएको हो । सो क्रममा सभामुख घिमिरेले नेपाल र कतारबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा झनै प्रगाढ भएर जाने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले कतारमा ठूलो संख्यामा नेपाली श्रमिकहरु कार्यरत रहेको बताउँदै उनीहरुको रोजगार र सामाजिक सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।

‘हामीबीच राजनीतिक, साँस्कृतिक र जनता जनताबीचको सम्बन्ध रहिआएको छ,’ सभामुखले भन्नुभयो, ‘आगामी दिनमा पनि हाम्रो सम्बन्ध उस्तै प्रगाढ रहनेछ ।’ सभामुख घिमिरेले नेपाली अलैंची, चिया, कफी, पानी लगायत कृषिजन्य सामग्रीलाई सोझै कतार निर्यातको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

राजदूत युसुफ बिन मोहम्मद अल–हेलले नेपाली श्रमिकका लागि कतारले उल्लेख्य व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले न्यूनतम तलब ४०० डलर पुर्याएको, कतारमा चारवटा अस्पतालमा श्रमिकको निःशुल्क उपचार व्यवस्था मिलाएको, बैंकिङ प्रणालीबाट तलबको व्यवस्था मिलाएको र तलब नदिने कम्पनीको दर्ता खारेज गर्ने गरेको समेत जानकारी गराउनुभयो ।

राजदूत युसुफले कतारले इटली एयरलाइन्स लगायतका विश्वका धेरै एयरलाइन्स कम्पनीमा लगानी गरेको बताउँदै नेपाल एयरलाइन्ससँग पनि साझेदारी गर्ने इच्छा प्रकट गरेको जानकारी दिनुभयो । ‘हामी सकारात्मक जवाफको प्रतिक्षमा छौं,’ उहाँले भन्नुभयो, ‘यही विषयमा छलफल गर्न नेपालका पर्यटन मन्त्रीलाई निम्तो दिइसकेका छौं ।’