काठमाडौं, १२ साउन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले निरङ्कुशताका अनेक जन्जालहरूलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्त्वपूर्ण योगदान दिए पनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको तथ्य औँल्याउनुभएको हो ।
‘योङ प्रोफेसनल फेलोसिप नेपाल–२०२३’ ले शुक्रवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूहरू र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै युवा पुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने बताउनुभयो । नेपाल स्वर्गजस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उहाँले युवा पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकिर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘हाम्रो जीवन वास्तवमा धेरै आन्दोलनमा बित्यो । व्यवस्था परिवर्तनका लागि बित्यो । हामीले निरङ्कुशताका अनेक जन्जालहरूलाई चुँड्दै आजको यो सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेपालमा हामी प्रवेश गर्न पाएका छौं । यो म र मभन्दा अघिल्लो पुस्ताको अत्यन्तै ठूलो योगदान र देन हो । तर व्यवस्थामा परिवर्तन गरेर पनि अवस्था परिवर्तन गर्ने कुरामा अलमलिएका छौं । रुमलिएका छौं । यसकारण यो रुमलिएकोलाई युवाहरूले चिर्नु हुनेछ । र, नेपालको अवस्था सुधार गर्ने जिम्मेवारी यहाँहरूको काँधमा छ । यहाँहरूले भविष्यमा नेतृत्व गर्नुहोस् ।’
अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई लागू पदार्थको दुर्व्यसन, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूको सिको गर्दै हुने आपराधिक गतिविधिबाट मुक्त राख्दै सुसंस्कृत युक्त, सभ्य र सहयोगी युवा पुस्ता तयार गर्नु आजको अहम् सवाल रहेको समेत बताउनुभयो । उहाँले युवा पुस्तालाई सूचना र प्रविधि विकाससँग भित्रिएको नकारात्मक प्रभावमा पर्न नदिन पनि सचेत गराउनुपर्ने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘विश्वको एउटा कुनामा भएको सकारात्मक र नकारात्मक प्रभाव अर्को कुना तत्क्षण पर्दछ । तसर्थ आजको नवयुवाहरूमा विश्वको कुनै पनि भू-भागमा हुने नकारात्मक कार्यको प्रभाव नपरोस् भन्ने कुरामा हामी सचेत हुन जरुरी छ। खास गरी लागू पदार्थलगायतका दुर्व्यसन, सामाजिक सञ्जाल र सञ्चार माध्यमाबाट सिको गर्दै हुने आपराधिक गतिविधि र मानवता र प्रकृति बिरोधी क्रियाकलापहरूबाट मुक्त, सुसंस्कृत युक्त सभ्य र सहयोगी युवा पुस्ता तयार गर्नु आजको अहम् सवाल हो भन्ने मलाई लाग्दछ ।
आजका युवाहरू भोलीको नेतृत्वकर्ता हुन् । उनीहरूलाई आवश्यक स्रोत, साधन, अवसर र मार्गदर्शन प्रदान गर्नु हाम्रो दायित्व हो । सोही बमोजिम राष्ट्रिय सभाको अध्यक्षको हैसियतले मैले पहलकदमी लिँदै आएको र भविष्यमा समेत युवा पुस्ताको विकासको सवालमा थप क्रियाशील हुने प्रतिबद्धता समेत व्यक्त गर्दछु । युवाहरू हाम्रा यस प्रयासका लाभग्राही मात्र नभई परिवर्तनका सक्रिय संवाहक हुन् भन्ने विश्वास ममा दृढ छ ।
उनीहरूको ऊर्जा, विचार र अनुरागसँग हाम्रो समाज परिवर्तनको शक्ति रहेको हुन्छ । हामीले चाहेको परिवर्तनको प्रारम्भ हामी आफैँबाट सम्भव छ । उमेर र ओहोदाको बाबजुद हामी प्रत्येकसँग रूपान्तरणको उत्प्रेरक हुने सामर्थ्य छ । विश्वले चाहेको परिवर्तनको संवाहक बन्न यस कार्यक्रम कोशेढुंगा साबित रहनेछ भन्ने मेरो विश्वास छ ।’ अध्यक्ष तिमिल्सिनाले विश्वले चाहेको परिवर्तनको संवाहक युवा पुस्तालाई बनाउने काममा उत्प्रेरकको भुमिका निर्वाह गराउने काममा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्