काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले संसदमा प्रतिपक्षलाई बोल्न नदिएको बताउनुभएको छ । आज पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा ओलीले अहिलेको संसद एमालेले चलाउन खोजेपनि सरकारले चल्न नदिएको बताउनुभएको हो । उहाँले भन्नुभयो,‘अहिलेको संसदको अवरोध तपाईंहरुले देख्नभएको छ ।
हामी चलाउन खोजिरहेका छौं तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै, सत्तापक्ष जर्याकजुरुक्क सबै उठेर हो हल्ला गर्ने संसदमा व्यवधान गर्ने, बोल्न नदिने गरिरहेको छ ।’ अध्यक्ष ओलीले संसद निदाएर बस्ने थलो नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसद अवरोध हुनै हुँदैन। गर्नै हुँदैन, गर्ने परिस्थिति ल्याउनु हुँदैन । संसद देशका लागि जनताका लागि काम गर्ने थलो हो। तर संसद देश र जनताका पक्षमा बोल्ने आवाज उठाउने ठाउँ हो। देश र जनताका हितमा सरकारमा भए रक्षा गर्ने र सरकारमा नभए रक्षाका निम्ति दबाब दिने थलो हो। संसद निदाएर बस्ने थलो होइन। अहिलेको संसद्को अवरोध तपाईंहरूले देख्नुभएको छ । हामी चलाउन खोजिराख्या छौं । तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर होहल्ला गर्ने । अनि दोष चाहिं एमालेलाई दिने ? संसद् अवरोध हामीले गरेको होइन ।’
ओलीले देश र जनताका पक्षमा बोलिएका विषयलाई सरकारले गम्भीरता पूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्र नाजुक अवस्थामा पुगेको दाबी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्