जनता टाइम्स

२६ भाद्र २०८०, मंगलवार ०५:२२

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन


काठमाडौं,  भदौ २६ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो ।

चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आउनुभएको थियो । उहाँ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत हुनुहुन्थ्यो

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आउनुभएको थियो । २०३३ सालमा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभएको थियो । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य हुनुभएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनुभएको थियो ।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आउनुभएको थियो । उहाँ जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बन्नुभएको थियो । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो । चारपल्ट सभामुख बन्दा उहाँ सधैं सर्वसम्मत हुनुभएको थियो ।