जनता टाइम्स

२४ आश्विन २०८०, बुधबार ११:२८

उद्धारमा ढिलाइले इजरायलमा रहेका नेपाली मर्माहत, पोखे सरकारप्रति कडा आक्रोश


काठमाडौं, असोज २४ । सरकारले इजरायलमा रहेका नेपालीको उद्धारमा ढिलाइ गरेपछि त्यहाँका नेपाली आक्रोशित बनेका छन । दक्षिणी इजरायलको द्वन्द्वग्रस्त नेतिभोतबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नेपाली विद्यार्थीहरू उद्धारमा ढिलाइ गरिएकोप्रति आक्रोशित देखिएका हुन ।

जीवन उच्च जोखिममा परेको चार दिन बितिसक्दा पनि सरकारले उद्धार नगरेको भन्दै कृषि विद्यार्थीहरूले सरकारप्रति आक्रोश पोखेका छन । इजरायलको दक्षिणी गाजा क्षेत्र र लेवनानसँग जोडिएको उत्तरी क्षेत्रमा कृषि काममा २ सय ६५ जना विद्यार्थी थिए । जसमा हमास लडाकुले शनिवार गरेको आक्रमणमा परी १० जना विद्यार्थीको ज्यान गएको छ भने चार जना बिद्यार्थी घाइते भएका छन । उनीहरुको उपचार जारी छ । आक्रमणपछि एक जना बिद्यार्थी बेपत्ता छन ।

अहिलेसम्म नेपाल फिर्तीका लागि ३ सय ५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । ‘हामी सेदोत नेगेभ (एग्रिकल्चर ट्रेनिङ सेन्टर) बाट सँगै ल्याएको कम्बोडिया र थाइल्यान्डका विद्यार्थीलाई सोमबार नै आफ्नो सरकारले उद्धार गरेर लगिसक्यो । हाम्रो सरकार भने चार दिन बैठक मात्रै बसिरहेको छ,’ सुदूरपश्चिम विश्वविद्यालयका लुइस रिजालले भन्नुभयो, ‘प्राथमिकता केलाई दिने भन्ने कुरा नै हाम्रो सरकारले छुट्याउन सकेको छैन ।’

विद्यार्थीहरूले ‘सिंहदरबारमा बस्ने बैठकले साथीहरूको मूल्य मात्रै तोकिरहेको’ बताएका छन । ‘कहिले आठ लाख भनेको छ । कहिले १० लाख भनेको छ । तर, हामी जुन तरिकाले शारीरिक र मानसिक यातनाका साथ गुज्रिरहेका छौं । त्यो निकै कठिन छ । दुई दिन अगाडिसम्म खान पाएका थिएनौं । अहिले खाना खान पाएका छौं । त्यो फरक कुरा हो,’ रिजालले भन्नुभएको छ, ‘दूतावासलाई फोन गर्दा कमर्सियल विमानहरू चलिरहेको छ भन्छ । यसका लागि पैसा चाहिने रहेछ । यो पैसाको जिम्मेवारी कसले लिने भन्ने कुरा छ । सरकारले सक्तैनौं भन्नुपर्यो । पैसा हामी आफैं हाल्छौं । पैसा हाल्न नसक्ने भए हामीलाई तुरुन्तै सूचना प्रदान गर्नुपर्यो ।’

नेपाली दूतावासले फार्म मालिक र इजरायली सुरक्षा संयन्त्रसँग समन्वय गरी दक्षिणी क्षेत्र सेदोत नेतिभोतबाट ५५ जना विद्यार्थीलाई रामेत नागेभ र उत्तरी क्षेत्रबाट ७२ जनालाई सीएफ ग्यालेली क्षेत्रमा ल्याएर राखिएको छ । इजरायलको उत्तरी क्षेत्र लेवनानको बोर्डर नजिक कार्यरत सय जना विद्यार्थीलाई सीएफ ग्यालेली क्षेत्रमा ल्याएको हो । उत्तरी क्षेत्र पनि असुरक्षित बन्दै गएको हो ।

विद्यार्थीहरूले आफूहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअनुसार आफ्नो बसाइलाई निरन्तरता दिन नसक्ने भन्दै उद्धार चाहेको बताएका छन । इजरायलका कृषि मालिक र विश्वविद्यालयले भने अध्ययन र पढाइलाई निरन्तरता दिन आग्रह गर्दै आइरहेको छ ।

‘हामीलाई जहिले पनि मानसिक र भावनात्मक रूपमा बलियो हुनुपर्छ भनेर सबैले भनिरहेको छ । आफूले सकेसम्म शतप्रतिशत दिइसकेका छौं । पाँच दिन हुन लागिसक्यो । बमको आवाज गर्जेको गर्जै छ,’ चितवनकी विभूषा अधिकारीले भन्नुभयो, ‘हामीलाई बमको आतंक कम भएको ठाउँमा रिलोकेट गरेको मात्रै हो । हामी पूर्ण रूपमा सुरक्षित छैनौं ।’ विद्यार्थीहरू १६ अक्टोबरबाट इजरायलका उडानहरू कतै पनि बाहिर जान नदिने खबरले थप चिन्तित देखिएका छन । ‘इजरायलले आफ्नै नागरिकलाई त बिदामा बाहिर जाऊ भनिरहेको छ । हामीलाई भने नेपाल सरकारले किन अहिलेसम्म लिन आइरहेको छैन ?’ अधिकारीको प्रश्न छ ।

यस्तै धनगढीका कल्पना जोशीले आफूहरूलाई जसरी पनि नेपाल जान चाहेको बताउनु भयो । ‘हामीलाई खाना पाएका छौं ? बस्न पाएको छ भनेर सोध्न पर्दैन । हामीलाई यो ठाउँमा बस्नु नै छैन । हामीले साथीहरू गुमाइसक्यौं,’ उहाँले भन्नुभयो, ‘हामीलाई जसरी नै नेपाल फर्कनु छ । अब अरू साथीहरूलाई गुमाउनु छैन । जीवित भएको चाहनुहुन्छ भनेर तुरुन्तै उडान पठाइदिनु होला । हामी जीवितै घर जान चाहन्छौं ।’

तेलअविवस्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई नेपाल पठाउन विश्वविद्यालयसँग समन्वय गरिरहेको जनाएको छ । ‘जोखिम क्षेत्रमा रहेका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूलाई सुरक्षित स्थानमा ल्याउन सफल भयौं । उनीहरूलाई इजरायल ल्याउने विश्वविद्यालयसँग एक्जिटका लागि समन्वय भइरहेको छ,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले भन्नुभयो, ‘अहिले राखिएको ठाउँ सुरक्षाको हिसाबले उचित छ ।’

उहाँले नेपाल जान इच्छुक विद्यार्थी र कामदारसँग फाराम संकलन भइरहेको बताउनु भयो । ‘विश्वविद्यालयसँग विधिवत रूपमा एक्जिट गर्ने विषयमा छलफल गरिएको र अर्कोतर्फ विद्यार्थीहरूलाई सार्ने काम भइरहेको उहाँको भनाई छ । शनिबार (असोज २०) यता १० नेपालीसहित इजरायलमा ९ सय जनाको मृत्यु भइसकेको छ । २६ सय घाइते भइसकेका छन । गाजातर्फ ८ सय ३० जना प्यालेस्टिनीको मृत्यु भइसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।