जनता टाइम्स

२६ आश्विन २०८०, शुक्रबार १८:४९

कोशी प्रदेश प्रमुख खापुङको झेल : ४७ सांसद आफै उपस्थित भएपछि सांसद नै अपरहण गराएर सनाखत गराउने खेल


बिराटनगर, असोज २६ । सत्ता गठबन्धनको कठपुतली बन्दा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ नांगेझार बन्नुभएको छ ।

कोशी प्रदेससभा सदस्य केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर गरेका ४७ जना सदस्य प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुँदासमेत खापुङले सत्ता गठबन्धनको आदेशपालक बनेर शनिवार मात्रै सनाखत गराउने सूचना जारी गर्नुभएको छ ।

आफ्नै कार्यकक्षमा उपस्थित ४७ जना प्रदेशसभा सदस्यलाई समेत अपमान गर्दै खापुङले शनिवारसम्म समय लम्ब्याउनु भएको हो ।शनिवारसम्म केदार कार्कीको पक्षमा हस्ताक्षर गरेको केही सदस्यलाई अपहरण गरी अनुपस्थित गर्ने र संख्या नपुगेको भन्दै असंबैधानिक रुपमा किर्ते हस्ताक्षर बुझाउनु भएका गठबन्धनका इन्द्र आङबोलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि खापुङले यस्तो सूचना जारी गर्नुभएको हो । खापुङले यसअघि पनि दुई पटक संबिधानबिरुद्ध काम गरिसक्नु भएको छ ।

प्रदेश प्रमुख खापुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको आदेशपालक बनेर यस्तो निर्णय लिनुभएको सचिवालयकै एक सदस्यले बताएका छन । प्रदेश प्रमुखको कार्यालयमा आज ५ बजे मुख्यमन्त्रीका दावेदार केदार कार्की र एमाले संसदीय दलका नेता हिक्मत कार्कीसहित हस्ताक्षरकर्ता ४७ जना सांसद नै उपस्थित हुनुभएको थियो । तर खापुङले संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने अभियानका नेतृत्वकर्ता प्रचण्ड र देउवाको आदेशमा संबिधानबिरोधी हर्कत गर्दै शनिवार ८ बजेदेखि २ बजेसम्म सनाखत गर्ने भन्दै सूचना जारी गराउनु भएको हो ।

स्रोतका अनुसार शनिवार बिहानसम्म कांग्रेसबाट कार्कीलाई समर्थन गर्दै हस्ताक्षर गरेका सांसदहरुलाई सत्ताको आडमा लुकाउने र संख्या पुगेन भनेर कार्कीको सट्टा आङबोलाई मुख्यमन्त्री नियुक्त गर्ने योजना खापुङको छ । उहाँलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले यस्तो आदेश दिनुभएको प्रदेश प्रमुखका सचिवालयकै एक कर्मचारीले जानकारी दिएका छन ।

सोहीअनुसार आज टारेर भोलिसम्म सवै खेल गराउने योजना रहेको छ । कोशी प्रदेशमा सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । सोही अनुसार ४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेकाले कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका थिए ।