जनता टाइम्स

२७ आश्विन २०८०, शनिबार २०:५१

रविलाई हिक्मत कार्कीले फर्काए कठोर जवाफ


बिराटनगर, असोज २७ । नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले कोशीको सरकार निर्माणमा कांग्रेससँग मात्रै सहकार्य गरेको प्रष्ट पार्नुभएको छ । बर्तमान सत्ता गठबन्धनसँग सहकार्यको कुरा एमालेले सोच्न पनि नसक्ने भन्दै कांग्रेससँग मात्रै सहकार्य भएको प्रष्ट पार्नुभएको हो ।

‘कस्मेटिक नेता साथिहरु हो ! आफूलाई सम्हाल्नुस है ! कोशी प्रदेशमा महागठबन्धन होइन है । एमाले अहिलेको सत्ता गठबन्धनसँग नभएको मात्रै होइन नि, यसको समर्थन गर्ने त के, यस अहिलेको गठबन्धनसँग सहकार्य पनि गर्दैन,’ एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका दलका नेता कार्कीले लेख्नुभएको छ ।

उहाँले कोशी प्रदेश सरकार निर्माणमा एमालेको सहकार्य अहिले कांग्रेससँग मात्रै भएको पनि बताउनु भएको छ । ‘ कोशी प्रदेश सरकार निर्माणमा हाम्रो सहकार्य अहिले कांग्रेससँग मात्रै हो,’ कार्कीले लेख्नुभएको छ ।

एमाले नेता कार्कीले स्वघोषित सेलिब्रेटी बनेर एमालेमाथि आइलाग्ने भूल नगर्न पनि चेतावनी दिनुभएको छ । रास्वपाका अध्यक्ष रवि लामिछानेले आज महागठबन्धन भन्दै एमालेमाथि हिलो छ्याप्ने काम गरेपछि कार्कीले जवाफ फिर्काउनु भएको हो ।

यस्तो छ कार्कीको जवाफ
कस्मेटिक नेता साथिहरु हो ! आफूलाई सम्हाल्नुस है ! कोशी प्रदेशमा महागठबन्धन होइन है । एमाले अहिलेको सत्ता गठबन्धनसँग नभएको मात्रै होइन नि, यसको समर्थन गर्ने त के, यस अहिलेको गठबन्धनसँग सहकार्य पनि गर्दैन । कोशी प्रदेश सरकार निर्माणमा हाम्रो सहकार्य अहिले कांग्रेससँग मात्रै हो । स्वःघोषित सेलिब्रेटीले आफूलाई ओभर स्मार्ट बनेर जनपक्षीय शक्ति एमालेलाई अन्डरस्टिमेट गर्ने दुश्साहस नगर्नुस, तपाईंहरु जस्ता धेरै कलाकार एमालेले देख्ने, भोग्ने र बेहोर्ने कामसमेत गरिसकेको छ । त्यसैले आफू लाई अपराध माथि उभिएर पानी माथिको ओभानो बन्ने प्रयास नगर्नु हुन सादर अनुरोध छ ।