बिराटनगर, कात्तिक १ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई तिहाइभन्दा बढी सांसदको समर्थनसहित विश्वासको मत पाउनु भएको छ । प्रदेशसभामा आज भएको मतदानमा दुई तिहाईबढी मतसहित मुख्यमन्त्री कार्कीले बिश्वासको मत पाउनु भएको हो ।
आज भएको मतदानमा ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत रहेको छ । मतदानमा सहभागी राप्रपाका ५ जनाले बिपक्षमा मतदान गरेका हुन । राप्रपाका एक सांसद भने अनुपस्थित रहे ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बन्नुभएका कार्कीलाई एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका छन । कोशी प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जसपाका एकजना सांसद छन् ।
केन्द्रीय गठबन्धनको निर्णय अस्वीकार गरी कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाएर मुख्यमन्त्री बन्नुभएका कार्कीले मन्त्रीको आसमा गठबन्धनमा रहेका अन्य दलले पनि मत दिएपछि भारती दुई तिहाइबढी मत प्राप्त गर्नुभएको हो । नेकपा एमाले र नेपाली कांग्रेसको बिद्रोही समुहको समर्थनमा कोशी प्रदेशका मुख्यमन्त्रीलाई मन्त्री बनाइ दिने आसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका सांसदले पनि मत दिएका हुन ।
कार्की मुख्यमन्त्री नियुक्त हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासहितको ‘चिर्केटो सम्झौता’ गर्दै उहाँ गठबन्धनकै मुख्यमन्त्री भएको बताउनु भएको थियो । एमालेको समर्थनमा मुख्यमन्त्री बनेपनि कार्की गठबन्धनकै भएको र एमालेलाई सरकारबाट बाहिर राख्नुपर्ने प्रधानमन्त्री दाहालको प्रस्ताव अस्वीकार गरी कार्कीले एमालेसहितको सरकार गठन गरी कोशीबाट कांग्रेस–एमाले सत्ता सहकार्यको सुरुवात गर्नुभएको छ ।
आफूहरुले मतदान गर्ने निर्णय गर्दा एमाले बिच्कने निश्कर्षसहित प्रधानमन्त्रीको दल माओवादीसहित नेकपा एस र जसपाले पक्षमा मतदान गरेका हुन । तर एमालेले आफूले बनाएको सरकार भएको भन्दै दृढ समर्थन गरेको छ । कोशीमा यो समिकरण भत्काउन देउवा र प्रचण्ड लागे पनि संभव नरहेको शेखर निकट नेता र मुख्यमन्त्री कार्कीले प्रष्ट पारिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्