काठमाडौं, साउन ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिमा दक्षिणपन्थी शक्तिसँगको सहकार्यभन्दा सही कार्यदिशाका आधारमा वामपन्थी एकता, पार्टी पुनर्गठन र रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
आज सार्वजनिक गर्नुभएको धारणा–पत्रमा नेता खनालले नयाँ सरकार गठनपछि मुलुकका ज्वलन्त समस्या समाधान हुने जनअपेक्षा रहे पनि त्यसअनुसारको वातावरण नबनेको उल्लेख गर्नुभएको छ। उहाँले राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, नागरिक अधिकार, सूचना प्राप्त गर्ने हक, छिमेकी मुलुकसँगको सम्बन्ध तथा राज्यका विभिन्न अङ्गबिचको समन्वय चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो। “यो देशका श्रमजीवी जनता खोलामा हामफाल्न र आत्महत्या गर्न बाध्य हुन थालेका छन्,” उहाँले भन्नुभएकाे छ, “यस्तो जटिल परिस्थितिमा बढ्दो विदेशी हस्तक्षेप र घरेलु अस्तव्यस्तताविरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध हुन आवश्यक छ।”
उहाँले वामपन्थी दलहरूले आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर साझा पहल गर्नुपर्नेमा जोड दिनुभएकाे छ। “वामपन्थीहरूले आफुबीचका आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर वाम एकताको पहल गरेको जनता हेर्न चाहन्छन्,” उहाँको भनाइ छ।
विगतमा वामपन्थी शक्तिहरूले नीति र वर्गीय दृष्टिकोणभन्दा सत्ता समीकरणलाई प्राथमिकता दिँदै दक्षिणपन्थी शक्तिसँग सहकार्य गरेको उल्लेख गर्दै उहाँले अहिले पनि त्यही गल्ती दोहोरिने खतरा रहेको बताउनुभएकाे छ ।”अहिले पनि दक्षिणपन्थी शक्तिसँग साँठगाँठ गरेर कम्युनिष्ट पार्टीको प्रतिष्ठामा अझ बढी आँच पुर्याउने खतरा देखिएको छ,” उहाँले भन्नुभएकाे छ।
नेता खनालले कुनै पनि नयाँ राजनीतिक समीकरण वा प्रदेश सरकार गठनसम्बन्धी निर्णय गर्नुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाएर विस्तृत छलफल गर्नुपर्ने धारणा राख्नुभएकाे छ। “क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र नीति निर्णय गरिनुपर्छ,” उहाँले उल्लेख गर्नुभएकाे छ।
केही नेताहरूको पद र कुर्सीप्रतिको मोहका आधारमा हुने राजनीतिक सहकार्यप्रति पनि उहाँले असन्तुष्टि जनाउनुभएकाे छ। “केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र हुने साँठगाँठको प्रवृत्ति रोकिनुपर्छ,” उहाँले भन्नुभएकाे छ।
धारणा–पत्रमा नेता खनालले “यो साँठगाँठको बेला होइन, सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला हो,” भन्दै सम्पूर्ण कम्युनिष्ट तथा वामपन्थी शक्तिलाई वैचारिक स्पष्टतासहित अघि बढ्न आह्वान गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्