काठमाडौं, २ कातिक । दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमाओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले आफ्नो शक्तिको दुरुपयोग गर्दै गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ । अध्यक्ष मोक्तानले सिक्ने क्रममा मङ्गलवार प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरको गाडी (जीप) दुर्घटनामा परेको हो ।
अध्यक्ष मोक्तानले कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीको चाबी चालकसँग मागेर आफैँले चलाएर स्वास्थ्य चौकी टोकरपुरसम्म लैजानुभएको थियो । उहाँले त्यो गाडी स्वास्थ्य चौकीबाट फर्काएर कार्यालय परिसरमा ल्याएर पुनः परिसरबाट बाहिर निकाल्ने क्रममा दुर्घटनामा परेको हो । गाडी दुर्घटनामा परे पनि अध्यक्ष मेक्तान सकुशल हुनुहुन्छ ।
अध्यक्ष मोक्तानले गाडी निकाल्दै गर्दा अकस्मात् एक्सिलेटर दबाउँदा हुत्तिएर पालिकाको भवनमुनि रहेको चिस्यान केन्द्रको भवन नजिकै ठोकिएको थियो । गाडी ठोकिँदा अगाडिको भागमा क्षति पुगेको छ । अहिले त्यो गाडीलाई चालकले त्रिपाल ओढाएर राखेका छन् । गाडी दुर्घटनामा परेपछि अध्यक्ष मोक्तान अर्कै गाडी लिएर काठमाण्डौ जानुभएको गाउँपालिकाका एक कर्मचारीले बताए ।
गाउँपालिकाको गाडी चलाउन पालिकाले नै चालक भर्ना गरेर राखे पनि चालक अनुमति पत्र विना नै अध्यक्ष मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको र त्यो गाडी मर्मतको खर्च पालिकाले बेहोर्छ कि अध्यक्ष मोक्तानले बेहोर्छन् भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रश्न सोधेका छन् ।













प्रतिक्रिया दिनुहोस्