सुर्खेत, १२ कात्तिक । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुमा हत्या गरिएका चारैजनाको शवको पोस्टमार्टम आइतबार हुने भएको छ । मुगुका प्रहरी प्रमुख, नायब उपरीक्षक वीरेन्द्र थापाले गाउँबाट शव उठाएर सदरमुकाम गमगढी ल्याएको र आइतबार नै पोष्टमार्टम गर्न लागेको जानकारी दिनुभयो । छायाँनाथ रारा नगरपालिका–६, का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान दीपक घर आइसकेपछि शव उठाइएको हो ।
कतारमा रहेका दीपक घटना घटेपछि शुक्रबार साँझ नै कतारबाट हिँड्नुभएको थियो । उहाँ काठमाडौंबाट नेपालगञ्ज विमानस्थल र त्यहाँबाट जहाजमै शनिबार बिहान ११ बजे घर पुग्नुभएको थियो । शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र छोरा ११ वर्षीय मनोज, छोरी ८ वर्षीया अप्सरा र छोरा ८ महिनाका रहरको शव घरभित्रै फेला परेको थियो ।
धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या भएको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ । मृतक श्रीदेवी छोराछोरीसहित ७ गते नै दशैँको टीका थाप्न माइती गाउँ कोटिल्ला जानुभएको थियो । माइतीबाट टीका लगाएर उनी ८ गते बेलुका नै घर फर्किनुभएको थियो । सोही राति सामूहिक हत्या गरिएको बताइएको छ । घटना ८ गते बुधबार साँझ नै घटे पनि प्रहरीलाई भने शुक्रबार बिहान ११ बजे मात्रै खबर भएको थियो ।
गाउँलेले बिहीबार बिहानैदेखि घर बाहिर ताला लगाएको देखेका थिए । शुक्रबार बिहान पनि ताल्चा लगाइएको देखेपछि स्थानीयले सोधिखोजी गरेका थिए । माइतीले फर्किसकेको बताएपछि उनीहरूले घरको ताला फोडेका थिए । घरभित्र चारैजना मृत अवस्थामा भेटेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । कुकुर सहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ ।
प्रतिक्रिया दिनुहोस्