जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार १६:३७

अन्नपूर्णले सडक उपभोग सेवा शुल्क उठाउन थाल्यो


म्याग्दी, १७ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारीसाधनबाट सडक उपभोग सेवा शुल्क उठाउन थालेको छ ।
चालुु आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र यही १४ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुुसार गाउँपालिकाको विभिन्न बस्तीमा सञ्चालन हुने जीप, ट्र्याक्टर र ट्रकलाई सूचीकरण गरेर स्थानीय सडक उपभोग सेवा शुल्क सङ्कलन गर्न थालिएको हो । म्याग्दीका अन्य पालिकाले उक्त सेवा शुल्क उठाएका छैनन् ।
गाउँपालिकाको प्रवेशद्वार महभिरमा वडा नं ७ का अध्यक्ष मइलन पुर्जा पुनको नेतृत्वमा कार्यपालिका सदस्य वीरबहादुर पौडेल, गाउँसभा सदस्य श्याम पुर्जा, कर्मचारी यमप्रसाद पुनको टोली बुधबारदेखि सवारी सूचीकरणका लागि खटिनुभएको छ ।
“सार्वजनिक सूचना जारी गरेर गाउँपालिकाको कार्यालयमा गाडी दर्ता गर्न आह्वान गरेका थियौँ । निर्धारित समयभित्र कसैले पनि गाडी दर्ता गर्नुभएन”, पुर्जाले भन्नुुभयो, “यातायात व्यवसायीले बेवास्ता गरेपछि कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी र प्रहरीको टोली नाकामा बसेर दर्ता गर्न थालेका हौँ ।”
सवारीसाधन दर्ता र नवीकरणवापत सङ्कलित रकम गाउँपालिकाले सडक मर्मत सुधारमा परिचालन गर्ने उहाँले बताउनुभयो । पुर्जाका अनुसार स्थानीय सडक प्रयोग सेवा शुल्कमार्फत चालु आवमा रू ५० लाखदेखि ६० लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
“अन्नपूर्ण गाउँपालिकालाई समेटेको राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकमा चल्ने सवारीसाधन भने दर्ता गर्नुपर्दैन”, पुर्जाले भन्नुभयो, “तीन दिनको अवधिमा करिब ४० जिप, ट्र्याक्टर दर्ता गरिएका छन् ।”
उहाँका अनुसार ट्र्याक्टरलाई रू एक हजार पाँच सय, जिप, बोलेरोलाई रू एक हजार पाँच सय, ट्याक्सीलाई रू एक हजार, बस र ब्याकहोलोडरलाई रू दुई हजार, ट्रकलाई रू तीन हजार पाँच सय, टिपरलाई रू एक हजार पाँच सय र एक्साभेटरलाई रू पाँच हजार दर्ता शुल्क कायम गरिएको छ ।
नवीकरण र पटकेका लागि ट्याक्सीलाई रू एक सय र टिपरलाई रू पाँच सय बाहेक अन्य सवारी साधनलाई रू दुई सयका दरले वार्षिक नवीकरण शुल्क तोकिएको पुर्जाले जानकारी दिनुभयो । क्साभेटर नवीकरण र पटकेका लागि कामको ०।५ प्रतिशत नवीकरण शुल्क तोकिएको छ ।
यसैगरी गाउँपालिका क्षेत्रभन्दा बाहिरबाट मालसामान बिक्री गर्न आउने सवारी साधनलाई ट्रक, लहरी अन्य हेवी गाडी वार्षिक रू २० हजार, पटके शुल्क रू एक हजार पाँच सय तोकिएको छ । गाउँपालिका बाहिरका जिप, भ्यान, ट्र्याक्टरलाई वार्षिक शुल्क रू १० हजार वा पटके शुल्क रू छ सय कायम भएको छ ।
अन्नपूर्ण–४ का यातायात व्यवसायी प्रेम गुुरुङले यातायात व्यवस्था कार्यालयमा दर्ता र नवीकरण भएका सवारीसाधनलाई पालिकाले पनि शुल्क लिँदा दोहोरो करको मारमा परेको गुनासो गर्नुभयो । यातायात व्यवसायीसँग छलफल र पूर्वसूचना नदिइ एक्कासी शुल्क उठाएको उहाँले आरोप लगाउनुुभयो ।
संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर गत असारको गाउँसभाको निर्णयअनुसार स्थानीय सडक उपयोग सेवा शुल्क उठाउने र अभिलेखीकरणका लागि दर्ता गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।
पालिकाले विभिन्न बस्ती जोड्ने सडकमा चल्ने सवारी साधनको भाडादर पनि निर्धारण गरेको छ । दर्तासँगै नाकामा ट्राफिक प्रहरीको सहयोगमा भाडादर कार्यान्वयनका विषयमा पनि अनुगमन गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । उहाँका अनुसार वडा तहमा जनप्रतिनिधि, उपभोक्ता र यातायात व्यवसायीले छलफल गरेर भाडादर निर्धारण गर्न सिफारिस गरेका थिए ।
कार्यपालिकाका सदस्य वीरबहादुर पौडेलले व्यापारीले ग्रामीण क्षेत्रमा भ्याटबिनाका म्याद नाघेका र म्याद सकिन लागेका सामान पठाउने गरेको पाइएकाले त्यसका विषयमा अनुगमन गरिएको बताउनुभयो ।