जनता टाइम्स

२२ कार्तिक २०८०, बुधबार ०८:०८

भूकम्प प्रभावितलाई कर्णाली सरकारले हस्तान्तरण गर्यो दुई करोड सहयोग


सुर्खेत, कात्तिक २२ । कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५-२५ लाख रुपैयाँ, कुशेमा गाउँपालिकालाई २० लाख रुपैयाँ, छेडागाड नगरपालिकालाई १० लाख रुपैयाँ, जुनीचाँदे गाउँपालिकालाई १० लाख रुपैयाँ र शिवालय गाउँपालिकालाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई २५-२५ लाख रुपैया, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २०/२० लाख रुपैया, मुसिकोट नगरपालिकालाई १० लाख रुपैया र बाँफीकोट गाउँपालिकालाई पाँच लाख रुपैया रकम हस्तान्तरण गरिएको प्रवक्ता जिसीले बताउनुभयो । उहाँका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख रुपैया तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई पाँच–पाँच लाख रुपैया हस्तान्तरण गरिएको छ ।

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताउनुभयो । यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो ।