पोखरा, मंसिर ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलको गुणस्तर बढाउन खेलाडीको पूर्ण समर्पण आवश्यक पर्ने बताउनु भएको छ ।
पोखरामा सुरु भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको आज उदघाटन एमाले अध्यक्ष ओलीले खेलाडीको समर्पणले नै खेलको गुणस्तर बढ्ने बताउनुभयो ।
‘खेलाडी खेलमा समर्पित हुन आर्थिक परिवेश, जीवन, परिवार पनि सम्बन्धित हुन्छन्,’ उहाँले भन्नुभयो, ‘अहिले केही खेलहरु व्यावसायिक रुपमा विकास हुन थालेका छन । जबसम्म खेल क्षेत्र र खेलाडी व्यावसायिक रुपमा पूर्ण समर्पित भएर जान सक्दैनन् तबसम्म खेल क्षेत्रको गुणस्तर उठ्न सक्दैन।’
खेलाडीको समर्पणको व्यवस्था सरकारले मिलाउनु पर्ने उहाँको भनाइ छ । उहाँले सरकारसँग खेल क्षेत्रको विकासका लागि आवश्यक समन्वय गर्ने बताउनु भयो। अध्यक्ष ओलीले बलिङ र ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियोे । सो अवसरमा अध्यक्ष ओली र उपाध्यक्ष बिष्णु पौडेले पनि बलिङ र ब्याटिङ गर्नुभएको थियो ।
प्रतियोगितामा ७ प्रदेशका सात टिम, तीन विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब) र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका दुई टिम सहभागिता रहेको छ ।
समूह ‘ए’ मा वाग्मती प्रदेश, कर्णाली प्रदेश र आयोजक एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी नीलो छन ।
विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटार र बलरले जनही २० हजार र म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्