जनता टाइम्स

२७ जेष्ठ २०८२, मंगलवार ००:३५

कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी लगातार बस्न नपाउने बिधानको पक्षमा दृढ छु : इश्वर पोखरेल


काठमाडौं, जेठ २७ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी रहन नपाउने बिधानको निरन्तरताको पक्षमा आफू रहेको बताउनु भएको छ ।

पत्रकार राजेन्द्र बानियाँसँगको अन्तर्वार्तामा बरिष्ठ उपाध्यक्ष पोखरेलले बिगतमा ब्यवस्था गरिएको सो ब्यवस्थाको निरन्तरता हुनुपर्ने पक्षमा आफू रहेको बताउनु भएको हो । बरिष्ठ उपाध्यक्ष पोखरेलले ७० बर्षे उमेरहद र दुई कार्यकालपछि डिस्कन्टिन्यू हुने पार्टी बिधानको पक्षमा उभिएको बताउनु भयो । सार्वजनिक रुपमा आएको यो भनाईले अध्यक्ष केपी शर्मा ओली अवको महाधिवेशनमा पुनः तेस्रो कार्यकालका लागि अध्यक्ष हुन नहुने पक्षमा पोखरेल रहनुभएको देखिएको छ ।

‘हाम्रो पार्टीको बिधानले दुईटा कुरा प्रष्ट ब्यवस्था गरेको छ । उमेरको सीमा तय गरेको छ ७० बर्ष । अर्काे कार्यकारी पदमा दुई कार्यकालपछि डिस्कन्टिन्यू हुनुपर्छ भन्ने ब्यवस्था लामो छलफल गरेरै तय गरेको हो । त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा म छु,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार मात्रै एमालेमा ७० बर्षे उमेर हद फेल भइसकेको र दुई कार्यकालको कुरा पनि लागू नहुने बताउनु भएको थियो । अध्यक्ष ओलीले अनेरास्वबियुको महाधिवेशनमा सो अभिब्यक्ति दिएको भोलिपल्टै बरिष्ठ उपाध्यक्ष पोखरेलले ठीक बिपरित धारणा सार्वजनिक गर्नुभएको छ ।

उहाँले बिधानमा ७० बर्षे उमेर हदको ब्यवस्था नेकपा एकीकृत समाजवादीमा रहेका नेताहरुलाई सहजताका लागि हटाउने प्रस्ताव गरिएको र आगामी बिधान महाधिवेशनले स्वीकार गरेमात्रै लागू हुने बताउनु भयो ।

हाम्रो पार्टीको बिधानले दुईटा कुरा प्रष्ट ब्यवस्था गरेको छ । उमेरको सीमा तय गरेको छ ७० बर्ष । अर्काे कार्यकारी पदमा दुई कार्यकालपछि डिस्कन्टिन्यू हुनुपर्छ भन्ने ब्यवस्था लामो छलफल गरेरै तय गरेको हो । त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा म छु

एमालेको बिधान महाधिवेशन आगामी भदौंमा गोदावरीस्थित सनराइज अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । पोखरेलले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई एमाले अध्यक्ष बन्नका लागि नेपालको कानूनदेखि पार्टीको बिधानले नछेकेको भन्दै त्यसका लागि सर्वप्रथम उहाँले नै निर्णय लिनुपर्ने बताउनु भयो । ‘मैले संगठन बिभागमा बुँझ्दा उहाँ (बिद्या भण्डारी) ले संगठित सदस्य नविकरण गर्नुभएको छ ।

अव उहाँ आउने कि नआउने भन्ने कुरा उहाँ स्वयंले निर्णय गर्ने कुरा हो । अरुले कसैले आउनुपर्छ वा आउनु हुन्न भनेर डिटेक्ट गर्नु उचित होइन,’ पोखरेलले भन्नुभएको छ । पत्रकार बानियाँसँगको कुराकानीमा पोखरेलले आफू निकट सवै नेता कार्यकर्ता बिद्या भण्डारीलाई एमाले अध्यक्ष बनाउनु पर्छ भन्ने पक्षमा लागेको भन्ने कुरालाई पनि स्वीकार गर्नुभएको छ ।