जनता टाइम्स

२६ जेष्ठ २०८२, सोमबार २२:३५

ऋण दिँदा बैंककाअध्यक्षले नै घुस लिएको भेटियो, अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा


काठमाडौं, जेठ २६ । बैंकबाट ऋण प्रवाह गर्दा घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्ष डा. चन्द्रप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तीन वटा कम्पनीलाई कर्जा प्रवाह गर्दा ७५ लाख घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीबिरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले अधिकारीसहित सहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

अधिकारीले रुपन्देहीको भुसाल हस्पिटालिटीलाई नेपाल बैंकबाट एक अर्ब ७७ करोड २९ लाख कर्जा प्रवाहमा सघाउनु भएको र त्यसबापत १९ लाख घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । अख्तियारले अधिकारीसँगै भुसाल हस्पिटालिटीका सञ्चालक बालकृष्ण भुसाल, अंकित भुसाल तथा अमृत भुसालविरुद्ध पनि घुस दिएको आरोपमा मुद्दा दायर गरेको छ । यस्तै घुस लेनदेनमा सघाउने नसिब अन्सारीलाई पनि प्रतिवादी बनाइएको छ ।

यस्तै अख्तियारले हिमाल तराई कन्ट्रक्सन, अकलादेवी ट्रेडर्ससँग घुस लिएको अभियोगमा पनि छुट्टाछुट्टै मुद्दा दायर भएको छ । हिमाल तराई कन्ट्रक्सनसँग ६ लाख तथा अकलादेवीसँग ५० लाख घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले मेबाइल नियन्त्रणमा लिई आयोगले विस्तृत अनुसन्धान गर्दा उनको घुस लेनदेन पत्ता लागेको हो।

अकलादेवी ट्रेडर्सलाई २५ करोड ऋण दिंदा अधिकारीले सञ्चालकहरू नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दर बहादुर बाँनियासँग २ प्रतिशत घुसको डिल गरी लिएको भेटिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार कम्पनीका सञ्चालकलाई पनि प्रतिवादी बनाइएको छ भने घुस लेनदेनमा सघाउने सन्तोष सुवेदी र खुस नसिब अन्सारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

त्यस्तै, हिमाल तराई कन्ट्रक्सनका सञ्चालक रमेश आचार्यलाई ६ करोड ऋण दिदा ६ लाख घुस लिएको पाइएको छ । घुसवापतको चेक अधिकारीको घरबाटै अख्तियारले गत माघ २३ गते बरामद गरेको थियो ।