बैतडी, १३ मंसिर । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकमा बिकास र समृद्धि रोकिएको टिप्पणी गर्नुभएको छ । “झुलाघाट-चिवाभञ्झ्याङ, समृद्धिका लागि संकल्प यात्रा” मध्य पहाडी लोक मार्ग पदयात्राको उद्घाटनको पुर्वसन्ध्यामा बैतडीको पाटनमा आयोजित अभिनन्दन समारोह कार्यक्रममा उहॅाले यस्तो बताउनुभएको हो ।
आजै बैतडी आउनु भएको अध्यक्ष ओलीले हिजोका सबै बिकासका गति रोकिएको बताउनुभयो ।एमाले नेतृत्वको सरकारले गरेको बिकास देखेर बिश्व जगत नै आश्चर्यचकित भएको ओलीको भनाइ थियो ।
उहॅाले भन्नुभयो, ‘विश्व नै चकित थियो नेपालको बिकास देखेर। विश्व बैंकले उदाउँदो तारा हो, नेपाल भनेको थियो ।’ उहॅाले थप्नुभयो, ‘तीब्र गतिमा बिकास भएका १० देशमा नेपाल पर्छ भनिएको थियो ।
२०७२ सालमा गएको भूकम्पले ध्वस्त पारेका घरहरुको पुनर्निर्माणपछि विश्वले प्रसंशा गरेको र कोबिड संक्रमणका समयमा गरिएको पहल र क्रियाकलापले विश्व स्वास्थ्य सङ्ठनले पनि नेपालको प्रसंशा गरेको थियो ।’
ती सबै सुधारको प्रयास देखेर नै असंवैधानिक ढंगबाट सरकार ढालिएको ओलीको जिकिर गर्नुभयो । त्यस्तै कार्यक्रममा उहॅाले पहिले एक वर्षमा १० किलो मिटर सडक कालोपत्र हुने गरेको स्मरण गर्नुभयो । उहॅाले भन्नुभयो, ‘हामीले दैनिक ५ किलोमिटर सदक बनायौं । पहिले एक वर्षमा भएको काम हामिले २ दिनमा गरेका थियौं । विकासको गति देखेर एमालेको सरकार असंवैधानिक ढंगबाट ढालियो ।’
अहिले मुलुकको अवस्था जर्जर बन्दै गइरहेको उहॅाले सुनाउनुभयो । ‘अहिलेको सरकारले सुशासन, बिकास र रोजगारी दिन सकेको छैन । राम्रो शिक्षा दिन सकेन । उद्योग बन्द हॅुदैछ । ब्यापारीमा उत्साह छैन । कमिसन तन्त्र हाबी भयो । देश राजनीतिक हिसाबले अस्थिरता र अराजक तर्फ गएको छ’ ओलीले भन्नुभयो ।
मंगलबार सूदूरपश्चिमको कैलाली आईपुग्नुभएको ओली आज बैतडी आईपुग्नुभएको हो । अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पनि आउनुभएको छ ।
भोलि बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्नुहुनेछ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् ।
यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । यात्रा अवधिमा सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गर्ने एमालेले तयारी गरेको छ ।
प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्त्व र सान्दर्भिकता दर्साउने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्