जनता टाइम्स

२२ मंसिर २०८०, शुक्रबार १६:१६

एमालेको सङ्कल्प यात्राले सिर्जना गरेको तरङ्ग


इमान्दारीलाई जति खिसी–टिउरी गरेपनि इमान्दारी बदनाम हुन सक्दैन । सत्यवादीलाई जतिसुकै असत्यवादीले खुइल्याउन खोजेपनि सत्य खुइलिदैन । जति भ्रम छरेपनि निष्टाको राजनीति गर्नेपार्टी र त्यसका नेतालाई जनताले माया गर्न छोड्दैनन्

निर्मल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झुलाघाट–चिवाभन्ज्याङ समद्धिको लागि सङ्कल्प यात्राको लगभग आधा अवधि पूरा भएको छ । यस अवधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अविछिन्न नेतृत्व गर्नुभएको शीर्ष नेताहरूको टिमले झुलाघाटदेखि मध्यनेपालसम्मका हजारौं जनतासँग प्रत्यक्ष कुराकानी गर्नुभएको छ । देशलाई कतातिर लैजाने आफ्नो पार्टीको भिजन जनतासँग पस्कनु भएको छ । जनताका पीरमर्का सुन्नुभएको छ । देश विकासका संभावनाको फेहरिस्त सङ्कलन गर्नुभएको छ । परम्परागत रूपमा स्थानीय जनताले उत्पादन गरेका सामग्रीको ब्राण्डिङ् र प्रचार गरिदिनु भएको छ ।

सबैलाई थाहा छ– पार्टी र जनताको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्दछ । अनि मात्र लामो र तुमुलकारी सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र मजबुत र जनमुखी हुन्छ । तृणमूल तहका जनताले भोगिरहेका वास्तविक समस्या बुझेको पार्टीले मात्र सही ढङ्गले सरकार सञ्चालन गर्न सक्दछ । सामाजिक सुरक्षाका थप नीतिहरू तय गर्न सक्दछ । टोल–टोलसम्म आफ्नो संगठन भएको नेकपा (एमाले) ले मात्र यो काम राम्ररी गर्न सक्दछ । एमालेले मात्र नेपाली जनताको सही नेतृत्व गर्नसक्छ र देशलाई अनिश्चय, अकर्मण्यता र अराजकताको शिकार हुनबाट जोगाउँछ भन्ने यो अभियानले पुष्टि गरेको छ ।

एमाले र नेपाली जनताको बीचमा समधुर र सचेत साइनो देखेर आत्तिएको अरू दलहरूले कार्यक्रमविहीन, लक्षविहीन र केवल स्वार्थ प्रेरित गठबन्धन गरेको कही कतै छिपेको छैन । हाल देखापरेका प्रतिगामी अराजकता, जातीय उदण्डता, भ्रष्टाचार र कुशासनको जननी गठबन्धन सरकारनै हो भन्ने पनि घाम जस्तै छर्लङ्ग भएको छ ।

इमान्दारीलाई जति खिसी–टिउरी गरेपनि इमान्दारी बदनाम हुन सक्दैन । सत्यवादीलाई जतिसुकै असत्यवादीले खुइल्याउन खोजेपनि सत्य खुइलिदैन । जति भ्रम छरेपनि निष्टाको राजनीति गर्नेपार्टी र त्यसका नेतालाई जनताले माया गर्न छोड्दैनन् । नेकपा एमालेलाई यो अभियानमा जनताले दर्साएको अगाद मायाले यो तथ्यको पुष्टि भएको छ ।

२०५१ सालमा गठन भएको ९ महिने एकल कम्युनिष्ट सरकारदेखि हालसम्म बनेका एमाले नेतृत्वका सरकारले श्रमजीवी जनताको पक्षमा कसरी काम गर्नुपर्छ भन्ने देखाइसकेका छन् । जनताको जीवनस्तर उकास्न एमालेको नीति पूर्णरूपमा कार्यान्वयन भएमा मात्र ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय सङ्कल्प पूरा हुनसक्छ भन्ने कुरामा अब कुनै भ्रम रहेन ।

यति हुँदाहुँदै पनि परम्परागत प्रतिक्रियावादी शक्तिहरू र सत्तास्वार्थबाट प्रेरित भएर प्रतिक्रियावादी शक्तिको गोटी बनिरहेका तथा कथित कम्युनिष्टहरू, तथाकथित समाजवादीहरू एमालेविरूद्ध नानाथरिका भ्रम छर्न छोडेका छैनन् । एमालेले जनताको पक्षमा सुरू गरेका युगान्तकारी कार्यक्रमको विद्रुपीकरण गर्नु, बदख्वाईं गर्नु, एमालेभित्रको एकतालाई होचोअर्गेलो गर्नु गठबन्धन दलको दिनचर्या बनेको छ । भूकम्पपीडित जनतालाई राहत र पुनःस्थानामा पूरै उदासिन गठबन्धन सरकार एमालेका स्वयमसेवकले जाजरकोट र रुकुमका जनतालाई पुर्याएको सहयोग देखेर अवाम बनेको छ ।

भन्न परोइन, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको नाममा निर्माण हुँदै गरेको मध्यपहाडी लोकमार्ग नेपालको मध्यपहाडी क्षेत्रका जनताको लागि लाइफलाइन बनेको छ । लोकमार्गसँगै पुग्ने अन्य पुर्वाधारले उद्योग, कलकारखाना र लघु उद्यमशीलताको विकास हुन गइ जनताको जीवनस्तरमा सुधार हुनेछ । साथै जिउनका लागि गरिने बसाईं सराइमा कमी आइ देशको जनसाङ्किक सन्तुलन कायम हुने निश्चित छ ।

‘सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय’को लक्ष बोकेको एमालेको समृद्धिको लागि सङ्कल्प यात्रा पार्टी नेतृत्व र स्थानीय जनताको बीचमा सेतु मात्र बनेको छैन, यसले अत्यन्त सकारात्मक राष्ट्रिय सन्देश प्रवाह गरेको छ । पीरमर्कामा परेका जनताको बाल मतलव नगरी फगत सत्ता सयरमा रमाएका गठबन्धन दलहरू र देश बनाउने कुनै अजेण्डा नभएका तर एमालेलगायतका स्थापित दलविरूद्धको कोहोलो मच्चाउँैदै हिँडेका तथा कथित नयाँ दलहरूलाई एमालेको यो सङ्कल्प यात्राले पैदा गरेको तरङ्गले आफ्नो भाष्य परिवर्तन गर्न वाध्य बनाएको छ ।

र, सफलतापूर्वक पुष्पलाल मध्यपहाडी लोकमार्गमा सिंह समान अगाडि बढिरहेको एमालेलाई बढी जनता बसोवास गर्ने मधेश प्रदेश र तराईका अन्य भू–भागमा आगामी उपयुक्त समयमा यस्ता जनता लक्षित अभियान पुनः सञ्चालन गर्न प्रेरित गरेको छ ।