भोजपुर, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम गर्ने इच्छा शक्ति हुने हो भने धेरै काम गर्न सकिने बताउनुभएको छ ।
झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाकाबन्दी, भूकम्प र कोभिड महामारीको बेलमा पनि नेकपा एमालेले धेरै काम गरेको बताउनुभयो ।
नेकपा एमाले सरकारबाट हटेपछि भूकम्प पछिको पुनर्निर्माण सबै काम रोकिएको अवस्थामा पुनः नेकपा एमाले सरकारमा गएपछि सबै पुनर्निर्माण काम गरेको उहाँले स्मरण गराउनु भयो । यस बाहेक विद्युत्, खानेपानी, सडक, पुल, सिँचाई रेल, पूर्वाधार, अनेक खालका विकास नेकपा एमालेले गरेको ओलीले बताउनुभयो ।
‘हाम्रो समयमा धेरै कामहरू भए, विरोधीहरू आत्तिए’, ओलीले भन्नुभयो । एमालेको काम देखेर विरोधीहरूले लगातार मुख छाडेका ओलीले बताउनुभयो । तिनै शक्ति एमाले भित्र समेत घुसेर पार्टी फुटाउने काम गरेका ओलीको भनाइ छ । अनेक जाल झेल गरेर, बहुमतको सरकार ढालेर, अदालतको सहारा लिएर समय नै तोकेर दक्षिणपन्थीको हातमा सत्ता जिम्मा लगाउने काम भएको उहाँले बताउनुभयो ।
एमालेलाई केही समयको लागि सत्ताबाट हटाएको भए पनि फेरी जनताको बहुमत सहित एमाले सरकारमा पुग्ने ओलीले दाबी गर्नुभयो । नेकपा एमाले गठबन्धन खोजेर हिँड्न झञ्झट नगर्ने तर कोही राष्ट्रिय शक्ति बन्न आउँछौँ भन्छन् भने हात मिलाएर अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।
सबै सिद्धाउन खोज्दा पनि कसैले सिद्ध्याउन नसकेर नेकपा एमाले पहिलो राष्ट्रिय शक्ति बनेर आएको उहाँले दाबी गर्नुभयो । तर यतिले पनि नपुगेको भन्दै ओलीले नेकपा एमालेको लागि एकल बहुमत आवश्यक रहेको प्रष्ट पार्नुभयो ।
जनताका कुरा सुन्न र जनतासँग प्रत्यक्ष भेटघाट गर्न नेकपा एमाले जनताको बिचमा आएको उहाँले बताउनुभयो । समस्या के छन् र समाधान कसरी हुन्छ भन्ने सुझाव लिई योजना बनाउन समृद्धिको लागि संकल्प यात्रा आयोजना गरिएको ओलीको भनाइ छ ।
ओलीले यो अभियानले नेकपा एमालेले जनताका समस्या र समाधानका उपायको विषयमा विद्यावारिधि प्राप्त गरेको बताउनुभयो । यसले पहाडका समस्या र समस्या समाधानको उपायको बारेमा पार्टीले अनेक ज्ञान प्राप्त गरेको उहाँले प्रष्ट पार्नुभयो ।
यो ज्ञान र सिपलाई व्यवहारिक प्रयोगमा ल्याउन २०८४ मा नेकपा एमालेको एकल बहुमतको सरकार बन्नु पर्ने ओलीले बताउनुभयो । अब पार्टी, पार्टीका कार्यकर्ता र नेपाली जनताले कुनै पनि गल्ती गर्न नहुने उहाँले स्पष्ट पार्नुभयो । अब पनि गल्ती भयो भने देशको अस्तित्व नै संकटमा पर्न सक्ने उहाँले बताउनुभयो ।
गठबन्धन सरकार कुहिएको फल जस्तै भएको बताउँदै ओलीले यो सरकार जति लामो गयो देशको लागि त्यति नै दुर्भाग्य हुने बताउनुभयो । त्यसैले अब यसको अन्त्य हुने पर्नेमा ओलीले जोड दिनुभयो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ ।
बैतडीको झुलाघाटमबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्