जनता टाइम्स

१९ पुष २०८०, बिहीबार २०:३९

तेस्रो श्रीमती भित्र्याएपछि पनि परस्त्रीसँग अनैतिक सम्बन्ध, थाह पाउने डरमा एक्लै बोलाएर मध्यराती निर्मम हत्या


खोटाङ, पुस १९ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखाम निवासी ३६ वर्षीय पवित्रा तामाङको हत्या बिवाहहेत्तर सम्बन्धका कारण प्रेमीबाटै भएको तथ्य खुलेको छ । हत्या आरोपमा प्रहरीले दम्पतीलाई नै पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङले तामाङको हत्या आरोपमा र जालपा निवासी ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) पक्राउ गरी अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ । गत मङ्सिर–१९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा पुस–३ गते शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । स्थानीयवासीका अनुसार पत्करले छोपेको अवस्थामा मृत भेटिएकी पवित्राको भित्रीबस्त्रसमेत थिएन ।

उक्त घटना घटाएको आरोपमा श्रेष्ठ दम्पतीलाई राजधानीबाट पक्राउ गरेर खोटाङ ल्याइएको हो । प्रहरीका अनुसार श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइती बस्दै आएकी पवित्रा मङ्सिर–१९ गते राति आठ बजेपछि बेपत्ता भएकी थिइन । भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी शुरु गरिएको थियो । तर पवित्रा मङ्सिर–२३ गते १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन । आफन्तको जाहेरीपश्चात अनुसन्धान सुरु गरेको प्रहरीले आरोपित श्रेष्ठ दम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीबाट पक्राउ गरेर जिल्ला ल्याएको हो ।

आरोपित श्रेष्ठले पवित्राको गत मङ्सिर–१९ गते राति नै हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काका अनुसार अभियुक्तले योजनावद्ध तरिकाले पवित्राको हत्या गरेको पाइएको छ । खडकाका अनुसार मृतक पवित्राको शव भेटिएकै ठाउँ नजिक रगताम्मे भएको एउटा हम्मर फेला परेको थियो । त्यो हम्मर दीपक आफैँले घरबाट लगेर गएको रहेछन ।

प्रहरीले मृतकको शव परीक्षण प्रतिवेदनमा समेत टाउकोमा हम्मर वा कुनै गहङ्गो वस्तु प्रहार गरेर हत्या गरिएको भन्ने देखिएको जनाएको छ । दीपक मङ्सिर–१९ गते दिउँसो श्रीमती सिर्जनाका लागि अनलाइन अडर गरिएको साडी लिन भन्दै घरबाट हिँडेर दिक्तेल आएका थिए । त्यसदिन केही सामान नलिइ दिपक दिक्तेलबाट मुडेतिर गए । त्यसपछि उनी घटनास्थल गएको देखिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार दिपकको पवित्रासँग पहिलेबाटै अनैतिक सम्बन्ध रहेको थियो । सिर्जनालाई विवाह गरेर ल्याइसकेपछि पवित्रासँगको अनैतिक सम्बन्ध खुल्ने डरले र पवित्राको गरहनाको लोभले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । दिपककी पत्नी सिर्जनालाई भने दीपकको कर्तुत लुकाउन सहयोग गरेको अभियोग लगाइएको छ ।

पवित्राको हत्या गरी लुटपाटसमेत गरेका दिपकले कानमा लगाइने रिङ जालपास्थित सहकारीमा ऋण लिनका लागि ४० हजार रुपैयाँमा धितो राखेको अवस्थामा, फुली दीपकको भाइ डम्बर श्रेष्ठबाट चार हजार ५ सय रुपैयाँमा धितो नै राखेको अवस्थामा र मोबाइल सिर्जनाको बुबा राजबहादुर राई (केपिलासगढी गाउँपालिका–७ सुङ्देल) बाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि मङ्सिर–३० गते भागेर ललितपुरको महालक्ष्मी नगरपालिका पुगेको अवस्थामा पक्राउ परेका श्रेष्ठ दम्पतीलाई प्रहरीले बरामद गरिएका सामानसहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेको छ । चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि नौँ महिनाअघि सम्बन्ध बिच्छेद गरेर माइती घर नाखाम फर्किएकी थिइन् ।

उनी तीन छोरी श्रीमानसँग छाडेर कान्छी छोरीसँगै लिएर माइती घर बस्दै आएकी थिइन् । प्रहरीका अनुसार सृजना दिपकको तेस्रो श्रीमती रहेको खुलेको छ । सृजनालाई दिपकले गत असोजमा मात्रै घर बिवाह गरेको प्रहरीको भनाई छ ।