जनता टाइम्स

२३ पुष २०८०, सोमबार ०७:४७

कांग्रेसको उम्मेदवार छनोटमा महामन्त्री थापाको लिखित असहमति


काठमाडौं, २३ पुस । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो ।

राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो । कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले टिकट पाउनुभएको छ।

मधेशमा आनन्द प्रसाद ढुंगानाले टिकट पाउनुभएको छ । उहाँ केन्द्रीय सदस्य र पार्टीको अनुशासन समितिको संयोजक हुनुहुन्छ। वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाउनुभएको छ । विष्णु देवी महिला संघ काठमाडौंको पूर्व अध्यक्ष हुनुहुन्छ भने बस्नेत तरुण दलको पूर्व अध्यक्ष हुनुहुन्छ ।

गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियारले टिकट पाउनुभएको छ । गोरखाका श्रेष्ठ प्रदेश महामन्त्री हुनुहुन्छ भने पदम बहादुर परियार तनहुँका हुनुहुन्छ । परियार अपाङ्ग पनि हुनुहुन्छ। उहाहरू दुवै जना संस्थापन इतर पक्षका हुनुहुन्छ ।

लुम्बिनीमा विष्णु देवी सापकोटाले टिकट पाउनुभएको छ । गुल्मीकी संस्थापन इतर नेता सापकोटाले महिला कोटाबाट टिकट पाउनुभएको हो।कर्णालीमा प्रदेश महामन्त्री कृष्ण रोकायाले टिकट पाउनुभएको छ। सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाउनुभएको छ ।भट्ट कैलालीका पार्टी सभापति र अपाङ्ग हुनुहुन्छ भने बलदेव बोहरा कञ्चनपुरका पूर्व सभापति हुनुहुन्छ

गगन थापाको लिखित असहमति

१० जना मध्ये गण्डकीमा दुई जना र लुम्बिनीमा एक जना गरी तीन जना उम्मेदवार मात्रै शेखर कोइराला र गगन थापा पक्षले पाएको छ । ४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनानुभएको छ ।

मधेशमा मधेशी मूलका व्यक्ति नभएको भन्दै नेता अर्जुन नरसिंह केसी र बल बहादुर केसीले पनि लिखित असहमति जनाउनुभएको हो । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ ।