काठमाडौं, २७ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुम्वेवा–४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा गएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको मृत्यु भएको हो । बिहीबार बेलुका कुरुम्बाङले श्रीमतीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहले बताउनुभयो ।
खुकुरी प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन् । विहीबार बेलुका ८ बजे घरायसी विवाद मिलाउन ससुराली घरमा छलफल भइरहेका बेला कुरुम्बाङले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको कुशवाहले बताउनुभयो ।
त्यसपछि उनले सासुलाई खुकुरी प्रहार गरेका थिए । त्यसक्रममा झगडा छुट्याउन गएका बेला छिमेकी श्रेष्ठमाथि पनि उनले खुकुरी प्रहार गरेका थिए । ‘घरायसी विवाद के थियो भन्ने स्पष्ट खुलेको छैन, तर सासु र श्रीमतीसँग छलफल भइरहेका बेला कुरुम्बाङले एक्कासि खुकुरी प्रहार गरेको बुझिएको छ,’ कुशवाहले भन्नुभयो, ‘रोक्न जाँदा छिमेकीलाई पनि प्रहार गरेको बुझिन्छ ।’
कुरुम्बाङ घटनापछि फरार छन् । उनको खोजी भइरहेको कुशवाहले बताउनुभयो । घाइते सासु कान्छीमाया र श्रेष्ठको झापा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते रहेकी कान्छीमायाको आइसियूमा राखेर उपचार भइरहेको कुशवाहले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्