धनगढी, पुस २८ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुदूरपश्चिमले कैलालीस्थित दुरसञ्चार कार्यालय गेटाबाट तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामानको लिलाम बिक्रीका क्रममा एक करोड ६ लाखभन्दा बढी रकम हिनामिना भएको तथ्य खुलेको छ ।
निकासा भएको सामानको पुनः तौल गर्दा कार्यालयमा दाखिला गरिएको भन्दा १२ हजार ५७१ किलो (१२.५७१ टन) बढी तौलको सामान फेला परेपछि यो तथ्य उजागर भएको हो । टेलिकमले १५ हजार ६ सय ७९ किलो (१५.६७९ टन) बिक्री गरेर निकासा गरेको अभिलेख छ । तर पुनः तौल गर्दा २८ हजार २५० किलो (२८.२५० टन) फेला परेको छ ।
ठेक्का सम्झौता अनुसार टेलिकमले लिलाम बिक्री गरेको उक्त तामाजन्य सामग्रीको बिक्रीमूल्य प्रतिटन भ्याटसहित आठ लाख ५० हजार ८९० रुपैया पर्छ । जसअनुसार एक करोड ६ लाख ९६ हजार रुपैयाँ मुल्य बराबरको सामान बिक्रीमा हिनामिना भएको पुष्टि भएको देखिएको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाको नियन्त्रणमा रहेको रा.१ ख ३२०६ नम्बरको ट्रकमा रहेको सामान बिहीबार तौल गर्दा १४ हजार ९८२ किलो (१४.९८२ टन) भेटिएको थियो । अर्को ना ६ ख ४६० नम्बरको ट्रकमा रहेको सामान शुक्रबार तौल गर्दा १३ हजार २६८ किलो (१३.२६८ टन) देखिएको हो ।
जिल्ला प्रशासन कार्यालयद्धारा गठित छानविन समितिले ट्रकको सामान पुनः तौल गर्दा उक्त परिमाण भेटिएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीले प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । छानविनका क्रममा बिहीबार ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको ट्रकको सामान तौल गरिएको थियो ।
आइतबार दुरसंचार कार्यालय गेटाबाट लोड भएर नेपालगञ्ज लैजादै गरेको अवस्थामा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको निर्देशनमा दुई वटा ट्रक सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले रा.१ ख ३२०६ नम्बरको ट्रक गेटा आँखा अस्पताल नजिकबाट नियन्त्रणमा लिएको थियो । ना ६ ख ४६० नम्बरको ट्रकलाई पनि आइतबार नै सशस्त्र प्रहरीको टोलीले कैलालीकै हसुलियाबाट नियन्त्रणमा लिएको थियो ।
निर्देशनालयका प्रमुख किशोर भट्टका अनुसार प्रवल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाण्डौं नामक कम्पनीले प्रादेशिक निर्देशनालयसँग ९६ टन कवाडी खरिदको सम्झौता छ । टेलिकमको सम्पर्कमा कम्पनीको तर्फबाट श्याम कुमार जैसवालले कारोबार हेर्ने गर्नुभएको छ । उक्त कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैया ८९ पैसामा खरिद सम्झौता गरेको छ ।
ठेक्का सम्झौता अनुसार टेलिकमले लिलाम गरेको उक्त तामाजन्य सामग्रीको बिक्रीमूल्य प्रति टन भ्याटसहित आठ लाख ५० हजार ८९० रुपैया पर्छ । ठेकेदार कम्पनीले निर्देशनालयका अनुसार कम्पनीले टेलिकमका विभिन्न कार्यालयहरुबाट हालसम्म ६७ हजार २४९ किलो सामान उठाइसकेको अभिलेख भेटिएको छ । सम्झौता अनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेलधुरा र दीपालयबाट सामान उठाउन बाँकी छ ।
तर गेटाकै कार्यालयबाट उठाएको सामानमा १२.५७१ टन परिमाण बढी पाएपछि यसअघि निकासी भएको परिमाणमा पनि प्रश्न उठेको छ । यस कार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनीबीच मिलेमतो भएको आशंका गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्