काठमाडौं, माघ २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक बर्बाद हुनबाट जोगाउन केही समयभित्रै सशक्त आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना भइरहेको जानकारी दिनुभएको छ ।
देशको अवस्था अहिले जस्तो खराब कहिल्यै नभएको तथ्य राख्दै एमाले अध्यक्ष ओलीले आन्दोलनमा जानै पर्ने बाध्यता सुनाउनु भएको हो ।
एमाले केन्द्रीय कार्यालय च्यासल आज आयोजित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले आन्दोलन देश बचाउनका लागि अनिवार्य आवश्यकता बनेको बताउनु भयो ।
अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको उल्लेख गर्दैसामाजिक सदभाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । मुलुकमा धार्मिक विद्वेष फैलाउने र पहिचानका नाममा राजनीति भाड्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले विद्युत व्यापार, देशको भूभागको रक्षालगायतका विषयमा वर्तमान गठबन्धन सरकार छिमेकीका लागि कम्फर्टेवल मात्र नभई घुँडाटेकुवा, दलाल र आत्मसमर्पणवादी भएको बताउनुभयो। उहाँले पार्टीभित्र अराजकता र अनुशानहीनता जस्ता कुरा स्वीकार्य नहुने स्पष्ट गर्दै आगामी २०८१ पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको बर्ष हुने बताउनुभयो।
अध्यक्ष ओलीले नयाँ केन्द्रीय कमिटी सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै हरेक दृष्टिकोणबाट योग्यताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो। अध्यक्ष ओलीले वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अद्यावधिक गर्न र वरव्यवहारमा अनुकरणीय बन्न आग्रह गर्नुभयो ।
नेकपा एमाले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। अध्यक्ष ओलीले २६औं सचिवालय बैठकबाट मनोनीत ६ जना केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराउनुभयो।
एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशनअघि अध्यक्षको जिम्मेवारीमा रहेका र एक जना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । मनोनीत हुनेमा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, कर्णालीका बिनोद शाह र सुदुरपश्चिम प्रदेशका दामोदर भण्डारी हुनुहुन्छ ।
यस्तै झापा अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको छ । एमाले केन्द्रीय कार्यालयमा आज उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
शपथ ग्रहण कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्