काठमाडौं, २८ माघ । नेकपा एमालेका सांसद रामचन्द्र राईले महालेखापरीक्षक तत्काल नियुक्त गर्न सरकारसँग माग गर्नुभएको छ । आज राष्ट्रियसभा बैठकमा बोल्दै सांसद राईले बेरुजु फर्स्योट गर्नका लागि पनि सरकारले महालेखापरीक्षक नियुक्ति चाँडोभन्दा चाँडो गर्नुपर्ने माग गर्नुभएको हो ।
मुलुकमा सुशासन व्यवस्थित गराउन सरकारले महालेखापरीक्षकको नियुक्ति गर्ने काममा ढिलाइ गर्न नहुने उहाँले बताउनुभयो । उहाँले संघीय निजामती सेवा ऐन छिटो संसद्मा ल्याउन पनि सरकारलाई दबाब दिनुभयो । सुशासनको पाटोमा सहज ढंगले काम गर्न पनि सरकारले सो विधेयक संसद्मा ल्याउन ढिलाइ गर्न नहुने सांसद राईले बताउनुभयो ।
‘संघीय निजामती सेवा ऐन आजसम्म नआउँदा सुशासनको पाटोमा कर्मचारीलाई ठिक ढंगले चलाउन सकिएको छैन। जनता सेवाबाट विमुख छन् । सरकारले संघीय निजामती सेवा ऐन चाँडो ल्याओस् । आज महालेखापरीक्षक रिक्त भएको नौ महिना बित्न लाग्यो । अहिले कामुबाट चलाइएको छ । बेरुजु बढेको छ । असुल गर्नुपर्ने बेरुजु झन्डै २७ अर्बको हाराहारीमा छ । महालेखा परीक्षक चाँडो नियुक्त गरियोस्,’ उहाँको भनाई थियो ।












प्रतिक्रिया दिनुहोस्