काठमाडौं, ८ फागुन । राप्रपा लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गौतमबुद्ध साझेदारी वनमा व्यवस्थापन समितिको अध्यक्ष रहँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहितका व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यादवसँग २९ लाख १२ हजार १९३ रुवैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरी विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो ।
आर्थिक वर्ष २०७४/२०७५ र आर्थिक वर्ष २०७५/२०७६ मा ३७ हजार क्युफिट काठ काटेर ठेक्का स्वीकृति गर्ने क्रममा वन कर्मचारीहरूसँग मिलेमतो गरी यादवसमेतले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । मुद्दा दायर भएकामा तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्कीलगायत छन् ।
प्रतिक्रिया दिनुहोस्