काठमाडौं, ११ असार । हुम्लाको सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सपना पूरा हुँदैछ, बेलिब्रिज र सडक निर्माण कार्य अन्तिम चरणमा छन्।खार्पुनाथ गाउँपालिका–५ खार्पु हुँदै बग्ने चुवाखोला(कर्णाली नदीमाथि बेलिब्रिज निर्माण कार्यको करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ र केही दिनभित्रै सञ्चालनमा आउनेछ । यससँगै सिमकोट-खार्पु मार्ग हुँदै सदरमुकाम सिधै राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कर्णाली कोरिडोरको ट्र्याक खोल्ने कामको जिम्मा पाएपछि नेपाली सेनाले ७ वर्षमा १२३ किलोमिटर सडक निर्माण गरेको छ । ११ असार, हुम्ला । २६ वर्षको प्रतीक्षापछि हुम्ली जनताको सडक सपना अबको केही दिनमै पूरा हुँदैछ । चुवाखोला(कर्णाली नदीमाथि बेलिब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा हुन लागेको हो ।
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा शिलान्यास भएको थियो । दक्षिणको नेपालगञ्ज–जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन-नेपाल हिल्सा नाका जोड्ने यो करिडोर ६८२ किलोमिटर लामो छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास भएको थियो । कर्णाली प्रदेशको राजधानीदेखि हिल्सा नाका पुग्न कूल ४१० किलोमिटर यो सडकको निर्माणको जिम्मा सुरुदेखि २०६६ सालसम्म सडक विभाग आफैंले लियो । नेपाली सेनाले बनाएको बाहेक हिल्सा–सिमकोट खण्डको १४५ किलोमिटर ट्र्याक खोल्न र ४ वटा पुल निर्माण गर्न आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७९ ८० सम्मको लागत ४ अर्ब १० करोड रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रगति प्रतिवेदनको तथ्याङ्ककमा उल्लेख छ । सो प्रतिवेदनअनुसार भौतिक प्रगति २२ दशमलब ५ प्रतिशत भएको देखिन्छ । कूल १४५ किलोमिटरमध्ये १३० किलोमिटर ट्र्याक खोलेको देखिन्छ । कर्णाली करिडोरका लागि संघबाट ३ अर्ब २३ करोड २३ लाख २३ हजार ७१२ रुपैयाँ १० पैसा बजेट आएको थियो । जसमा २ अर्ब २१ करोड २५ लाख ३६ हजार १६० रुपैयाँ ६५ पैसा खर्च भयो ।
१ अर्ब १९ करोड ७८ लाख ७ हजार ५५१ रुपैयाँ ४५ पैसा फिर्ता गएको हिल्सा-सिमकोट सडक योजना हुम्लाले जनाएको छ । राज्यले बजेट खर्च त गर्यो, हुम्लीको सडक सपना भने पूरा हुन पाएन । विभागले गर्ने काममा निकै विलम्ब भयो । स्थानीय स्तरबाट सरकारप्रति चर्को असन्तुष्टि बढ्यो । हरेक वर्षको बजेट भाषणमा सिमकोट सडक सञ्जालमा जोड्ने विषयले प्राथमिकता पायो । तर, हरेक सालको अन्त्यमा अपेक्षित प्रगति हुन नसक्दा स्थानीय स्तरमा बढेको चर्को दबाबका बीच सरकारले ९ चैत २०७१ मा कालिकोटको लैफु( लालुदेखि हुम्लाको सर्केगाडको सलिसल्लासम्मको १२३ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गर्यो । नेपाली सेनाले जिम्मा पाएपछि कोरिडोरको ट्र्याक खोल्ने कामले तुलनात्मक रूपमा तीव्रता पायो । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कर्णाली कोरिडोरको ट्र्याक खोल्ने कामको जिम्मा पाएपछि नेपाली सेनाले ७ वर्षमा १२३ किलोमिटर सडक निर्माण गरेको छ ।
सेनाले कालिकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि हुम्लाको सल्लीसल्ला खण्डको १२३ किलोमिटर सडकखण्ड निर्माण गर्ने जिम्मा ९ चैत २०७१ मा पाएको थियो । सेनाले १ साउन २०७८ मा उक्त खण्ड निर्माण सम्पन्न गर्यो । निर्माण सकेपछि हिल्सा–मकोट सडक योजना कार्यालयका तत्कालीन कार्यालय प्रमुख विसुन्दास लामा र बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द लामालाई हस्तान्तरण गरेको कर्णाली करिडोर सडक निर्माण दलका तत्कालीन प्रमुख मेजर सेनानी इन्जिनियर मिलन कार्कीले जानकारी दिनुभयो । त्यसपछि हुम्लाका ताजाकोट, अदनचुली, चंखेली र सर्केगाड गाउँपालिकाका केन्द्र राष्ट्रिय सडक सञ्जालमा जोडिए । जिल्लाको दक्षिणका स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, कालिकोट हुँदै हुम्लाको सल्लीसल्लासम्म दैनिक १५ देखि २० बोलेरो जिप र ३० देखि ३५ सम्म मालबाहक ट्रक आउजाउ गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्