जनता टाइम्स

१० असार २०८२, मंगलवार २१:२५

‘हाम्रो सहर, समृद्ध वीरेन्द्रनगर बनाउने रहर’ : नीति तथा कार्यक्रम सार्वजनिक, बजेट  ४ अर्ब ३८ करोड


सुर्खेत, १० असार। वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले मंगलबार नगरको १७ औँ नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्ध, शैक्षिक र सहरी पूर्वाधारयुक्त वीरेन्द्रनगर निर्माणका लागि ठोस कार्यदिशा अगाडि सार्नुभएको छ ।

उहाँले ‘हाम्रो सहर, समृद्ध वीरेन्द्रनगर बनाउने रहर’ भन्ने नागरिक अपेक्षालाई आत्मसात् गर्दै नगरलाई कर्णाली प्रदेशकै शैक्षिक, प्रशासनिक र पर्यटकीय राजधानीको रूपमा विकास गर्ने दीर्घदृष्टिका साथ नीति तय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बढ्दो बसाइसराइ, सीमित स्रोतसाधन र उच्च जनसङ्ख्याका बाबजुद आशातीत नतिजा निकाल्ने उद्देश्यले योजनाहरू चयन गरिएको हो ।

डिजिटल प्रशासन र शीघ्र सेवा

विगतका वर्षहरूमा देखिएको ढिलासुस्ती, अपारदर्शिता र प्रशासनिक जटिलतालाई हटाउँदै ‘शीघ्र सेवा, तीव्र विकास’ अभियान अन्तर्गत एकीकृत डिजिटल सेवा प्रणाली लागू गरिने नीति ल्याइएको छ । ‘सरल सरकार, सहज सेवा’को प्रत्याभूति दिलाउने गरी सेवाग्राही अब लाइनमा हैन, अनलाइनमा सेवा लिने सुनिश्चित गरिने जानकारी उहाँले दिनुभयो ।

नगरको सुशासन प्रवर्द्धन गर्न नगर प्रहरीको परिचालनमार्फत फुटपाथ व्यवस्थापन, आन्तरिक सुरक्षा र सहरी सौन्दर्यमा ध्यान दिइनेछ । सार्वजनिक प्रशासनलाई सुरक्षित कार्यक्षेत्रका रूपमा परिचालित गर्न ‘प्रशासनभित्र, सुरक्षित कार्यक्षेत्र’ अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ ।

पूर्वाधार र गौरव आयोजना

ढकालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम अनुसार आगामी दुई वर्षभित्रै ‘भेरी लिफ्ट खानेपानी आयोजना’ सम्पन्न गरिनेछ । नगर गौरवको आयोजनाका रूपमा ‘घण्टाघर पार्क’ निर्माण गरिनेछ भने १५ शय्याको नगर अस्पताललाई थप प्रभावकारी रूपमा सञ्चालन गरिने योजना रहेको छ ।

मंगलगढी चोकमा आकासे पुल निर्माण, कर्णाली बसपार्क निर्माण, सडक मर्मत युनिट गठन जस्ता विगतका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी उहाँले दिनुभयो । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास अन्तर्गत देउती बज्यै मन्दिर, लाटीकोइली शिव मन्दिर र गढी क्षेत्रको संरक्षण र विकासमा प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।

शिक्षामा १० वर्षे रणनीति

नगरलाई शैक्षिक हबका रूपमा विकास गर्न १० वर्षे शैक्षिक रणनीतिको कार्यान्वयन सुरु गरिने योजना रहेको उहाँले बताउनुभयो । सबै सामुदायिक विद्यालयमा निःशुल्क पाठ्यपुस्तक, सेनेटरी प्याड वितरण र डिजिटलाइजेसनको योजना पनि समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।

कानुनी साक्षरता र लैङ्गिक समानता

महिला, बालबालिका र विपन्न समुदायको हकहितका लागि ‘मेरो पकेट, मेरो डस्टबिन’ चेतना अभियान सञ्चालन गरिने, कानुनी साक्षरता कार्यक्रमलाई वडास्तरसम्म पुर्‍याउने र महिला–मैत्री कार्यक्रमलाई सशक्त बनाउने नीति रहेको उहाँले उल्लेख गर्नुभयो ।

कृषि र उद्यमशीलता

‘पकेट क्षेत्रमा जोड’, ‘सिँचाइमा लगानी कृषकलाई आम्दानी’, ‘आयात घटाऔँ, स्थानीय उद्यमी बढाऔँ’ जस्ता नारासहित कृषि क्षेत्रको प्रवर्द्धन गरिने र किसानलाई अनुदानमार्फत सहयोग गरिने जानकारी पनि उहाँले दिनुभयो । उद्यमशीलता प्रवर्द्धन गर्न ‘एक वडा, एक उद्यमशीलता’ कार्यक्रम सञ्चालन गरिने र डिजिटल रोजगारीमा युवालाई जोड्ने नीति तय गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

स्वास्थ्य र पोषण

स्वास्थ्य सेवामा सुधार ल्याउँदै महिला तथा बालबालिका अस्पताललाई स्तरोन्नति गरिने र वीरेन्द्रनगर स्वास्थ्य सन्देश कार्यक्रम, सुत्केरी पोषण कार्यक्रम, निस्शुल्क एम्बुलेन्स सेवा, ‘हेल्लो गर्भवती आमा’ कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

खेलकुद र युवा

युवालाई उत्पादनशील र उद्यमशील बनाउन ‘युवासँग उद्यमशीलता’ कार्यक्रम सञ्चालन गरिने र नगर युवा परिषद् मार्फत खेलकुद तथा युवा लक्षित कार्यक्रमहरू अगाडि बढाइने जानकारी उहाँले दिनुभयो । राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई तालिम र व्यवस्थापनमा सहयोग गरिने र पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिने नीति रहेको उहाँले बताउनुभयो ।

पर्यटन प्रवर्द्धन

नगरभित्र रहेका पर्यटकीय स्थलहरूको लोकेसन ट्रयाकिङ एपमार्फत प्रवर्द्धन गरिने र पर्यटकीय सूचना बोर्ड राखिने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।

४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट

वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

मंगलबार नगरपालिकाको १७औँ नगरसभामा नगर उपप्रमुख नीलकण्ठ खनालले बजेट सार्वजनिक गर्दै शिक्षा, पूर्वाधार, सहरी व्यवस्था, स्वच्छता, कृषि, सामाजिक सुरक्षा र वातावरणीय दायित्वमा विशेष प्राथमिकता दिइएको जानकारी दिनुभयो। बजेटमार्फत नगरपालिकाले आफूलाई ‘कर्णाली प्रदेशकै पहिलो उपमहानगरपालिका’ बनाउने लक्ष्य लिएको छ।

यस बजेटमध्ये चालुतर्फ १ अर्ब ५९ करोड ४२ लाख ३० हजार र पुँजीगत तर्फ २ अर्ब ७८ करोड ८४ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ। चालू खर्च कुल बजेटको ३६.३७ प्रतिशत र पुँजीगत खर्च ६३.६३ प्रतिशत रहेको छ। यस पटक वित्तीय व्यवस्थातर्फ भने शून्य बजेट राखिएको छ।

बजेट खर्च गर्ने स्रोतको हिसाबमा सबैभन्दा ठुलो हिस्सा संघीय सरकारले प्रदान गर्ने सशर्त अनुदानबाट प्राप्त हुने अनुमान छ, जुन २अर्ब २० करोड ८ लाख रुपैयाँ बराबर हुनेछ। यस्तै, संघीय समानीकरण अनुदान, सामाजिक सुरक्षा अनुदान, संघीय राजस्व बाँडफाँड, प्रदेश सरकारका विभिन्न अनुदानहरू, नगरको आन्तरिक आय र गत वर्ष बाँकी रहेका रकमलाई समेत स्रोतका रूपमा प्रस्तुत गरिएको छ। नगरपालिकाले यस वर्ष आन्तरिक आयबाट ५१ करोड ६३ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ।