ललितपुर ९ फागुन । ललितपुर महानगरपालिका कार्यालय छेउमै २०११ सालमा स्थापना भएको मदन स्मारक माध्यामिक विद्यालय छ । जगदम्बा कुमारीदेवीले आफ्ना श्रीमान् मदन शमशेरको सम्झनामा स्थापना गर्नुभएको उक्त विद्यालयको नाममा २७ रोपनी जमिन भए पनि अहिलेसम्म सोचेजस्तो स्तरोन्नति गर्न सकिएको छैन । विद्यालय स्थापना हुँदा निर्माण भएको २४ काठे राणकालीन भवन हाल जीर्ण छ ।
विसं २०७२ को भूकम्पले उक्त विद्यालयको तीन वटा भवनमा क्षति पुर्याएपछि जोखिमको मूल्याङ्कन गरेर रातो स्टिकर टाँसिएको थियो । दुईवटा भवन हाल प्रयोगमा छैनन् । अर्को चर्किएको भवनमा भने रातो स्टिकर टाँसेपनि पठनपाठन हुने गरेको छ । भूकम्पले क्षति पु¥याएको भवनमा रातो स्टिकर टाँसिएपछि पुनःनिर्माणको आशामा दुई वर्षसम्म टहरमा पठनपाठन सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ,‘जगदम्बा कुमारी देवीको २०४५ सालमा निधन भएपछि नेपाल सरकारका तर्फबाट प्राप्त रु ५० हजारबाट भवन निर्माण पुनः निर्माण गरिएको थियो । हालसम्म सरकारले विद्यालयको स्तरोन्नतिका लागि खासै चासो देखाएको छैन ।’ भूकम्पले क्षति पुर्याएको भवनमा अहिले विद्यार्थी अध्ययन गरिरहेका छन् । विसं २०११ देखियता छाना फेरिएको छैन । वर्षा सुरु हुने वित्तिकै कक्षा कोठामा पानी चुहिन थाल्छ ।
भूकम्प गएको आठ वर्ष पुग्न लागिसक्यो अझै पुनःनिर्माणको सुर छैन । विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल भन्नुहुन्छ,‘यदि सरकारले विद्यालयको भौतिक संरचनासहित स्तरोन्नतिमा चासो देखाएमा यस विद्यालयलाई नमूना सरकारी विद्यालय बनाउन सकिन्छ । विद्यालय ललितपुरको केन्द्रमा रहेको र विद्यालयको नाममा २७ रोनी जमिन रहेको हुँदा सरकारी लगानीमा नमुना सरकारी विद्यालय बनाउन सकिन्छ ।’
हाल यस विद्यालयमा कक्षा एकदेखि १२ सम्म जम्मा ६०० विद्यार्थी छन् । कक्षा छ देखि १२ सम्म विद्यार्थीको भर्ना सङ्ख्या ठीकै भए पनि बालविकासदेखि कक्षा पाँच सम्मको भर्ना सङ्ख्या त्यति चित्तबुझ्दो छैन । बालबिकासदेखि कक्षा पाँचसम्म विद्यार्थीहरुको भर्ना दर चित्तबुझ्दो नहुनुको पछाडिको कारण सरकारी स्कुलप्रतिको बुझाइ र गलत प्रचार रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘सरकारी स्कुलको शिक्षा राम्रो भए पनि गलत प्रचार गरिएको छ । सेवा सुविधाको हिसाबले निजी स्कुलभन्दा सरकारी स्कुल धेरै माथि छ । ’
प्रतिक्रिया दिनुहोस्