काठमाडौंं, १२ फागुन । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले देश इतिहासकै सबैभन्दा गम्भीर अवस्थामा रहेको बताउनुभयो । आजबाट सुरु भएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ढुङ्गेलले अहिले देशमा तस्करी र भ्रष्टाचार इतिहासमै सबैभन्दा बढी मौलाएको बताउनुभयो । ‘गठबन्धन बनेकै भ्रष्टाचार र तस्करी गर्न रहेछ’, ढुङ्गेलले भन्नुभयो । नेपाली कांग्रेसको महासमिति बैठकले पनि देशको राजनीतिक निकास दिन नसकेको उहाँले बताउनुभयो । ‘एमाले बलियो छ भन्ने मानसिकता रहँदासम्म कांग्रेस माओवादी एकै हुन्छन्, पार्टी पनि एउटै बनाउन परे बताउँछन्’, उहाँले भन्नुभयो ।
एमालेलाई कमजोर बनाउन एमाले विरुद्धका सबै शक्तिलाई एउटै बोरामा हाल्ने काम गरिएको ढुङ्गेलले बताउनुभयो । तिनीहरू कुहिएका आलु हुन् भन्ने कुरा नेकपा एमालेले प्रमाणित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा विकास र समृद्धिको लागि काम गर्ने पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो । ‘नेपालमा जहाँ कोट्याउँदा पनि एमालेको रगत पसिना नबगेको ठाउँ नै छैन, मेलम्ची कोट्याउनुस्, सडक कोट्याउनुस्, पुल कोट्याउनुस्, जहाँ कोट्याउनुस् एमालेको रगत पसिना पाइन्छ’, ढुङ्गेलले भन्नुभयो ।
उहाँले पार्टी राम्रो हुनको लागि सांगठानिक अनुशासनका साथै आर्थिक अनुशासन पनि त्यतिकै महत्त्वपूर्ण भएको बताउनुभयो । पार्टीलाई हरेक हिसाबले अब्बल बनाउन आवश्यक रहेको ढुङ्गेलको भनाइ छ । ढुङ्गेलले पार्टीका काम दैनिक कार्य जस्तै भएको बताउनुभयो । त्यसैले पार्टीको काममा दैनिक र निरन्तर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । सबैभन्दा इमानदार र असल नेता कार्यकर्ता एमाले छन् भन्ने सन्देश दिन सक्ने हो भने सबै जना एमाले खोज्दै आउने ढुङ्गेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्