जनता टाइम्स

२८ फाल्गुन २०८०, सोमबार १५:३०

संविधान र संघीयता कार्यान्वयनका लागि कानून निर्माणमा लाग्छु : कानूनमन्त्री गिरी


पर्वत, २८ फागुन । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक बाँकी कानून निर्माण गरिने बताउनु भएको छ । आज पर्वत सदरमुकाम कुश्मा बजारमा व्यवसायीसँगको अन्तरक्रियामा उहाँले ती कानून निर्माणमा आफू सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री गिरीले स्वाधीन अर्थतन्त्र जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय कानूनमा बाहिरी हस्तक्षेप आउने गरेको व्यवसायीको गुनासो छ । नेपालको लागि नेपाली आफैँले कानून निर्माण गर्नुपर्छ । पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर बन्दै गएको र युवा पलायन नरोकिएको तर्फ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

संविधान कार्यान्वयन र कतिपय पुराना कानूनहरू संशोधनको महत्वपूर्ण जिम्मेवारी अझै पनि बाँकी रहेको मन्त्री गिरीले बतााउनुभयो । उहाँले थप्नुभयो, ‘ती काम पूरा गर्नु वर्तमान सरकारको दायित्व हो ।’ मन्त्री गिरीले देशभर सहकारीमा देखियो समस्या समाधानका लागि पनि कानून संशोधनको आवश्यकता औंल्याउनु भयो ।