काठमाडौं, साउन २ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिन उल्लेख्य वर्षा हुने सम्भावना रहेको छ।
आज विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
विभागका अनुसार लगातारको वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दा विशेष सतर्क रहनुपर्नेछ। सम्भावित विपद्का कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।
आज रातिसमेत देशभर अधिकांश स्थानमा बदली रही मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्