जनता टाइम्स

१ चैत्र २०८०, बिहीबार १८:५३

कार्यपालिका बैठकमै जनप्रतिनिधिबाट कुटिए प्रमुख प्रशासकीय अधिकृत, टाउँको फुट्यो


डडेलधुरा, चैत १। डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ ।

कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार प्रमुख प्रशासकीय अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार गरिएको छ । जोशीको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।

बजेट संशोधन गर्नेसहित १३ वटा एजेन्डामाथि छलफल गर्न आज परशुराम नगरपालिकाको कार्यपालिका बैठक डाँकिएको थियो । बैठकमा एकाएक आक्रोशित हुँदै सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका हुन ।

नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मङ्सिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उहाँलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । प्रहरीले सो घटनाको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ ।