जनता टाइम्स

७ चैत्र २०८०, बुधबार ११:१०

काठमाडौंमा झरी परेसँगै बढ्यो चिसो, यी प्रदेशमा आज पानी पर्ने संभावना


काठमाडौं, चैत ७ । बागमती सहितका कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले ती प्रदेशका अधिकांश भूभागमा बर्षा भइरहेको जनाएको हो ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । काठमाडौं र भक्तपुरमा बिहानैदेखि पानी परिरहेको छ । झरी परेसँगै चिसो बढेको छ । महाशाखाका अनुसार काठमाडौंको गोकर्णेश्वरको धाप क्षेत्रमा पछिल्लो २४ घन्टामा ३.० मिलिमिटर पानी परेको छ । कपन क्षेत्रमा ०.६ मिलिमिटर पानी परेको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा ०.४ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा सिराहामा अधिक पानी परेको छ। सप्तरी र सिराहाको सीमामा पर्ने चुरेमाईमा पछिल्लो २४ घन्टामा ३० मिलिमिटर पानी परेको छ । यस्तै बागमतीको सिन्धुली, मकवानपुर जिल्ला र आसपासका ठाउँहरूमा छिटपुट वर्षा भइरहेको छ ।

सिन्धुलीको रानीबास पछिल्लो २४ घन्टामा ७.६ मिलिमिटर पानी परेको छ । महोत्तरीको बर्दिबासमा ६.६ मिलिमिटर र उदयपुरको सुन्दरपुरमा ८.४ मिलिमिटर पानी परेको छ ।
यस्तै खोटाङको ऐँसेलुखर्कमा ४.८ र ओखलढुंगाको मानेभञ्ज्याङमा ४.६ मिलिमिटर पानी परेको छ ।

पश्चिमतर्फ भने आंशिक बदली रहेको छ । कर्णालीको चिसापानी क्षेत्रमा पछिल्लो २४ घन्टामा १.२ मिलिमिटर पानी परेको छ । यस्तै नवलपरासीको बर्दघाटमा ०.६ मिलिमिटर पानी परेको छ । महाशाखाले नियमित बुलेटिनमार्फत कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।