janatatimes

८ चैत्र २०८०, बिहीबार ०८:५७

संसद बैठक रोकेर जेनेभातिर सभामुखसहित ४ दलका प्रमुख सचेतक, बिदेश सयर गर्न हतारोमै सकियो प्री-बजेट छलफल


आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल हतारोमा सकाएर सभामुख देवराज घिमिरेसहित प्रमुख चार दलका प्रमुख सचेतक र संसदका पदाधिकारी विदेश भ्रमणमा निस्कन लागेका हुन ।

काठमाडौं, चैत ८ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसदमा रहेका प्रमुख चार दलका प्रमुख सचेतकलाई लिएर जेनेभा उडन लाग्नुभएको छ । प्रि बजेटमाथिको छलफल हतारोमै सकाएर १० दिन संसदको बैठक रोकी सभामुख घिमिरे र प्रमुख चार दलका प्रमुख सचेकतहरु आज साँझ जेनेभा उडन लाग्नुभएको हो ।

सभामुख घिमिरे नेतृत्वको टोली आज साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत जेनेभा उडन लागेको हो । अन्तर व्यवस्थापिका संसद् (आइपीयू) को सम्मेलनमा भाग लिन उहाँहरु ८ दिनका लागि जेनेभा जान लागेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । टोली चैत १६ गते नेपाल फर्किने तालिका रहेको छ ।

सभामुखसहित चार दलका प्रमुख सचेतकहरु नेपाली कांग्रेसका रमेश लेखक, नेकपा एमालेका महेश बर्तौला, नेकपा माओवादी केन्द्रका हतराज पाण्डे र रास्वपा सन्तोष परियार आज जनेभा जान लाग्नुभएको हो । उहाँहरु जेनेभा जाने भएकोले प्रतिनिधिसभाको बैठक नै १० दिनका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत १८ गते बस्ने गरी स्थगित गरिएको हो ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएपछि बैठक स्थगित भएको हो । गत फागुन १४ गते प्रस्तुत भएको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएपछि बुधबार नै अर्थमन्त्री बर्षमान पुनले जवाफ दिनुभएको थियो ।

सांसदहरूले उठाएका प्रश्नलाई एकीकृत गरेर सुझावका रुपमा संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने छ । जेनेभा भ्रमणले प्रिबजेटको छलफल प्रभावित बनेको प्रष्टै देखिएको छ । हतारोमैे बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको हो । प्रतिनिधिसभामा कायम रहेका २७३ सदस्यमध्ये प्रिबजेट छलफलमा जम्मा ७४ जना मात्र सहभागी भएका छन ।

सभामुखसहित संसद्का पदाधिकारी विदेश भ्रमणमा जान थालेपछि प्रतिनिधिसभा १० दिनका लागि बन्द गरिएको हो । संसद्का पदाधिकारीको भ्रमणलाई मध्यनजर गरेर आगामी आव ०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल बुधबार हतारोमा सकिएको हो । लगत्तै प्रतिनिधिसभा बैठक १८ चैत बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सिद्धान्त र प्राथमिकतामा पर्याप्त छलफल गर्न सरकारले अध्यादेशमार्फत फागुनमै संसदमा पेस गर्ने व्यवस्था गरेको थियो । तर, संसद्का पदाधिकारी भने कर्मकाण्डी रूपमै छलफल सकेर जेनेभा भ्रमणतिर हुइकिने योजना बनाएका हुन । संसद् सचिवालयका अनुसार १४ फागुनमा प्रतिनिधिसभामा प्रस्तुत आगामी बजेटको बजेटका सिद्धान्त र प्राथमिकतामाथि १ चैतबाट छलफल प्रारम्भ भएर चैत ५ र ७ गते गरी तीन दिनसम्म चलेको छ ।

पहिलो दिन १८, दोस्रो दिन २४ र बुधबार ३१ जनाले बोलेका थिए । चैत ६ गते भन्सार विधेयकमा सैद्धान्तिक छलफल चलाएको प्रतिनिधिसभाले साँझ परिसकेकाले सिद्धान्त र प्राथमिकतामा छलफल चलाएन, बैठकको अन्तिममा एकजनाले मात्रै बोलेका थिए ।