हेटौडा, ३ जेठ । बागमती प्रदेशसभा सचिवालयले संसदीय समितिको सभापति निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सभामुख भुवनकुमार पाठकको निर्देशनमा सचिवालयले आज एक सूचना प्रकाशित गर्दै प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को अनुसूची–३ बमोजिम, सम्बन्धित समितिको सभापतिमा उम्मेदवार बन्न सोही समितिका एक सदस्यको समर्थनमा प्रस्ताव दर्ता गर्नुपर्नेछ । निर्वाचन कार्यतालिका अनुसार, सभापति पदका लागि मनोनयन दर्ता शुक्रबार दिउँसो सुरु हुनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ हुनेछ । मतदान भने जेठ ५ गते शनिवार हुनेछ । सम्बन्धित समिति सचिवालयले मतदानका लागि फरक फरक समय निर्धारण गरेका छन् ।
प्रदेश मामिला समिति सभापति र सार्वजनिक लेखा समिति सभापतिको मतदान शनिवार दिउँसो २ बजेदेखि, अर्थ तथा विकास समिति सभापतिको मतदान दिउँसो साढे १२ बजेदेखि, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति र उद्योग, पर्यटन तथा वातावरण समिति सभापतिको मतदान शनिबार अपराह्न दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ । निर्वाचित समितिका सभापतिहरूको शपथ ग्रहण भने जेठ ६ गते बिहान साढे १० बजे हुने प्रदेशसभा सचिवालयको कार्य तालिकामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्