जनता टाइम्स

६ असार २०८२, शुक्रबार ०४:००

मन्त्रीले नै गुमाए होस, गृहजिल्लामै हाने विपक्षी दलका नेतामाथि मुक्का


ताप्लेजुङ, असार ६ । कोशी प्रदेशका एक मन्त्रीले नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश सदस्य तथा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेलाई मुक्का हानेको घटना बाहिर आएको छ ।

थेवेले आफूलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले दुई मुक्का हानेको बयान दिएसँगै घटना बाहिर आएको हो । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई ताप्लेजुङको प्रदेश निर्वाचन क्षेत्र २ बाट निर्वाचित मन्त्री हाङगाम गृहजिल्ला पुगेका बेला थेबेसँग विवाद भएको थियो ।

‘उहाँ मादक पदार्थ सेवन गरेर आउनुभएको थियो । उहाँले मसँग ८४ सालमा प्रतिस्पर्धा गर्ने रे हो भनेर सोध्नुभयो । मैले त्यस्तो नभनेको बताएँ । तर, उहाँले त्यही बिचमा मलाई मुक्का हान्नुभयो,’ घटनाबारे जानकारी दिँदै थेबेले भन्नुभयो । सो घटनाका प्रत्यक्षदर्शीले पनि धकेलाधकेल भएको र मन्त्रीले मुक्का हानेको दृष्य देखेको बताएका छन ।

घटनाको विषय सार्वजनिक भएपछि आफूसँग मन्त्री हाङगाम तनावमा पर्नुभएको छ भने आफन्त र कार्यकर्ता लगाएर मिल्न दबाब दिइरहनु भएका छ । कुटाइ खाने थेवेले अहिलेसम्म उजुरी भने नदिएको तर, घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई थाहा भएको बताउनु भएको छ ।

मन्त्री हाङगाम यसअघि पनि पटक पटक विवादमा तानिनुभएको थियो । २०८० भदौ २१ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा सांसद हाङगामले तत्कालीन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डीएसपी) राजन लिम्बूलाई ज्यान मार्ने धम्की नै दिनुभएको थियो । उहाँले प्रहरीको हतियार खोसेको आरोप समेत लागेको थियो ।

सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा कांग्रेस सांसद रहनुभएका हाङ्गाम र डीएसपी राजन लिम्बूबिच प्रतिष्ठाको लडाइँ बनेको थियो । विवाद चर्केपछि हाङ्गामले डीएसपी लिम्बूको परिवारकै हत्या गर्ने धम्की दिनुभएको थियो ।

मंगलबार भएको भेटमा थेबेले हाङगामविरुद्ध आगामी निर्वाचन लड्ने बताउनु भएको थियो । त्यसपछि रिसाउँदै हाङगामले मुक्का हानेको प्रत्यक्षदर्सीले बताए । मन्त्री हाङगामले हातपात गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । पीडितले जाहेरी नदिएको र हातपात गर्ने व्यक्ति भीआईपी भएका कारण पनि प्रहरीले यो विषयमा औपचारिक बोल्न मानिरहेको छैन ।

ताप्लेजुङ प्रहरी प्रमुख वेदप्रसाद गौतमले घटनाको विषयमा औपचारिक जानकारी आफूलाई नभएको बताउनुभयो । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले पनि घटनाको विषयमा अनभिज्ञता प्रकट गर्नुभएको छ । तर हातपातको घटनापछि प्रहरीले बुधबार दुवै पक्षलाई मिलाउने प्रयास गरेको थियो । पीडित थेबेले पनि यसलाई स्वीकार गर्दै अहिलेसम्म विषय नमिलिसकेको तर अब मिल्ने बताउनु भएको छ ।

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा निकट मन्त्री हाङगाम जहाँ पनि बिवादमा मुछिने गर्नुभएको छ ।
पटकपटक विवादमा आइरहने मन्त्री हाङगामको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि राम्रो सम्बन्ध नभएको स्रोत बताउँछ । प्रदेशको बजेट निर्माणका क्रममा उहाँले मुख छाडनु भएको बताइएको छ ।