जनता टाइम्स

४ जेष्ठ २०८१, शुक्रबार ०८:५२

फेरि बिश्वासको मत लिँदै प्रधानमन्त्री, संसद सचिवालयलाई पत्राचार


काठमाडौं, जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न संसद् सचिवालयमा पत्र पठाउनु भएको छ ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार जेठ ७ गते विश्वासको मत लिन लाग्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधानअनुसार प्रधानमन्त्री दाहालले संसद् सचिवालयमा पत्राचार गर्नुभएको हो ।

जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम गठन भएको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।