काठमाडौं, जेठ १३ । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । दुवै सदनको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने कार्यसूची रहेको छ ।
कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले ०८१ जेठ १ गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८१–०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
आ.व. २०८१–०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिनेछ ।
प्रधानमन्त्री प्रचण्डलेउक्त छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसपछि सभामुख देवराज घिमिरेले प्राप्त संशोधनहरु र सम्माननीय राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आ.व. २०८१–०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।
बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेहुनेछ । उहाँले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची पनि छ ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ’सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्नुहुनेछ ।
नेमकिपाका सांसद् प्रेम सुवालले ’लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नुहुनेछ ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ’लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएको छ
बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८०–८१ को आर्थिक सर्वेक्षण पेस गर्नुहुनेछ । उहाँले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धी समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
उद्योग मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ’विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
राष्ट्रिय सभा बैठकमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले ०८१ जेठ १ गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८१–०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्डले उक्त छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरु निर्णयार्थ पेस गर्नुहुनेछ । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले आ.व. २०८१–०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्