जनता टाइम्स

१८ जेष्ठ २०८१, शुक्रबार १७:३७

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ


काठमाडौं, १८ जेठ । प्रहरीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष एवम् पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा  (सीबी) लाई पक्राउ गरेको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको हो । उनलाई चितवनबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिनुभयो ।

कान्तिपुर सहकारीमा अध्यक्ष छँदा बचत अपचलन गरेको आरोप लागेपछि लामा फरार थिए ।  उनले दुई करोड रुपैयाँ ठगी गरेको भनी उजुरी परेको प्रहरीले जनाएको छ ।काभ्रेका लामाले काठमाण्डौमा कान्तिपुर सहकारी स्थापना गरेका थिए ।

सहकारीको एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ अपचलन भएको आरोप छ । कान्तिपुर सहकारीमा आठ सय ५२ जना बचतकर्ताको रकम डुबेको छ । लामाले अहिले आफू अध्यक्ष रहेको पशुपति सहकारीको पनि बचत रकम अपचलन गरेको आरोप लागेको छ ।