जनता टाइम्स

१ असार २०८१, शनिबार १०:१३

असारमा फेरि घट्यो निक्षेपको ब्याज, कुन बैंकको कति ?


काठमाडौं, असार १ । असारमा पनि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले शुक्रबार प्रकाशन गरेको नयाँ ब्याजदर तालिकाले यस्तो देखाएको हो ।

नयाँ तालिका अनुसार असारका लागि बैंकको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.१२२ प्रतिशत बिन्दुले घटेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ वटा बैंकले असारमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन । तीन बैंकले सीमान्त दरमा बढाएका छन भने ६ वटा बैंकले स्थिर राखेका छन ।

साधारण बचतमा बैंकहरूको ब्याजदर औसतमा ०.०७५ प्रतिशत बिन्दुले घटेको छ । असारका लागि ९ वटा बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् भने दुई वटाले बढाएको र ९ वटाले स्थिर राखेका छन् । यससँगै असारमा वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ६.८७६ र साधारण निक्षेपको ४.९१६ प्रतिशत कायम भएको छ । जेठ महिनामा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.९९८ र साधारणको ५.०१९ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्नेछ । उक्त ब्याजदर एक महिनाभित्र परिवर्तन गर्न नपाइने व्यवस्था छ । यही कारण बैंक तथा वित्तीय संस्थाले शुक्रबार असारका लागि ब्याजदर सार्वजनिक गरेका हुन । ०८१ वैशाखमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.३४, विकास बैंकहरूको १०.१५ र वित्त कम्पनीहरूको ११.६१ प्रतिशत छ । अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.२७ प्रतिशत थियो । पछिल्ला महिनामा अपेक्षित रूपमा कर्जा असुली हुन नसक्दा बैंकहरूको खराब कर्जा बढेको छ ।

०८१ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.३५, विकास बैंकहरूको ७.३१ र वित्त कम्पनीहरूको ८.५५ प्रतिशत छ । ०८० वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.०८ प्रतिशत थियो । कर्जाको भारित औसत ब्याजदर ०८१ वैशाखमा वाणिज्य बैंकहरूको १०.३४, विकास बैंकहरूको ११.८९ र वित्त कम्पनीहरूको १३.११ प्रतिशत छ ।

०८० वैशाखमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत थियो । गत वर्षको साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोडले बढेको छ । यो ७.८ प्रतिशतको वृद्धि हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ सय ७० अर्ब ७८ करोड (७.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ ।

गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ५३ अर्ब १७ करोड (३.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।