काठमाडौं, असार ४ । अनलाइन क्यासिनोमार्फत सट्टेबाजी खेलाउने समुहले दुई महिनामै २४ करोड रुपैयाँभन्दा बढीको अबैध कारोवार गरेको तथ्य फेला परेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बिशेष टोली बनाएर अघि बढाएको अनुसन्धानले यस्तो तथ्य उजागर गरेको हो ।
सिआइवीको बिशेष टोलीले सट्टेवाजी खेलाएको अभियोगमा शनिवार ६ जना पक्राउ गरेको थियो । सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार ‘उल्फ ७७७’ अनलाइन क्यासिनोमार्फत जुवा खेलाउने ६ जनालाई पक्राउ गरिएको हो ।
अनलाइन जुवा खेलाउने काम गर्दै आएको भन्ने सूचनाको आधारमा सिआइबी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रूपन्देही घर भई काठमाडौं बस्ने २५ वर्षीय आकाश मिश्र, २२ वर्षीय अभिषेक जयसवाल, २५ वर्षीय नितेश हरिजन, २९ वर्षीय राम गिरी, २८ वर्षीय प्रतीक बस्याल र २९ वर्षीय सजल श्रेष्ठ रहेका छन ।
पक्राउ परेका सवै ‘उल्फ ७७७’ का सञ्चालकहरू भएको एसपी बोगटीले बताउनु भयो । प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिहरूलाई बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जालमार्फत पठाई सट्टेबाजी खेलाउने गरेको पाइएको छ ।
फक्राउ परेका सवैलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत सट्टेबाजी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्