जनता टाइम्स

१२ असार २०८१, बुधबार ०८:३३

रास्वपाका जिल्ला संयोजकले त्यागे पार्टी


प्युठान, असार १२ । रबि लामिछाने नेतृत्वको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गर्नुभएको छ ।

आसन र भाषणमा रमाउन नसकेको भन्दै उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको हो । ‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु,’ सुवेदी मंगलबार फेसबुकमा लेख्नुभएको छ ।

उहाँले आसन र भाषणमा मात्रै रमाउन मनले नमानेको पनि प्रष्ट पार्नुभएको छ । ‘समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीँ कतै केही समस्या अवश्यै छ, त्यसैले मलाई म पार्टीगत राजनीतिका लागि योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो । आसन र भाषणमा मात्रै रमाउन मनले मानेन,’ सुवेदीले लेख्नुभएको छ ।

यस दौरान केही आशा गरेर गुनासो गर्नेहरु थुप्रै भेटिएको तर आफूले कसैको पनि गुनासो सुन्ने बाहेक केही गर्न नसकेको सुवेदीले बताउनु भएको छ । ‘यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो,’ सुवेदीले लेख्नुभएको छ, ‘यो कमजोरी बोकेर म पार्टीको नेता बन्न चाहिनँ ।’ फरक देखिन र बोल्न सिकेर होइन, फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी भएको पनि उहाँले लेख्नुभएको छ ।