जनता टाइम्स

२३ असार २०८१, आईतवार १५:०६

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कतिमा भइरहेछ कारोवार ?


काठमाडौं, असार २३ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत जेठ २५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। सो दिन सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँले बढी हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार चार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा भने आइतबार सुनको भाउ प्रतितोला एक हजार रूपैयाँले बृद्धि भएको छ ।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । यआज दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको थियो । आज शुक्रवारको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।