जनता टाइम्स

१ श्रावण २०८१, मंगलवार १७:५०

लोक-संस्कृति र साहित्यलाई अझै सुदृढ र जीवन्त बनाएर नेपालीपनको मौलिक परिचय दिनु आजको आवश्यकता : राष्ट्रपति


काठमाडौं, साउन १ । राष्ट्रपति रामचन्द्र पौडेलले लोक(संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ ।

धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शितल निवासमा आज आयोजित जनकविकेशरी धर्मराज थापाको १००औँ जन्मजयन्ती तथा पुरस्कार वितरणका अवसरमा राष्ट्रपति पौडेलले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको बताउनु भयो ।

‘लोक कलाकार तथा लोक–संस्कृतिकर्मी राष्ट्रका गहना हुन, लोक–साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ,’ उहाँले भन्नुभयो ।

‘नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति तथा भौगोलिक विविधतायुक्त देश हो । विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भाव हाम्रो विशेषता हो,’ राष्ट्रपति पौडेलले भन्नुभयो , ‘हाम्रो भाषा, संस्कृति, साहित्य, इतिहास र परम्परा हाम्रा अमूल्य निधि हुन । यसैको विकास, संरक्षण र प्रवद्र्धनसँगै नेपालको राष्ट्रिय एकतालाई अझै सुदृढ र जीवन्त बनाएर नेपालीपनको मौलिक परिचय दिनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ ।’

नेपाली लोकजीवन, मनोभावना र नेपाली माटोको मर्मलाई गीत, संगीत र साहित्यका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा जनकविकेशरी धर्मराज थापाको विशिष्ट योगदान रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली लोकसाहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवद्र्धनमा उहाँको योगदान नेपाल र नेपालीले कहिल्यै विर्सने छैनन भन्नुभयो । यस्ता कार्यक्रमले आफ्नो साधनामा समर्पित प्रतिभालाई समाज र राष्ट्रको विकासमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

त्यस अवसरमा संस्कृति पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नेपालको संस्कृति नेपाली समाजको प्राण भएको बताउनुभयो । उहाँले धर्मराज थापाका गीतले नेपालको भाषा र लोक संस्कृतिको प्रवद्र्धनका सार्थ नेपाली लोक संस्कृतिलाई विश्वभर पहिचानमा टेवा पुगेको बताउनुभयो । ‘गायक थापाका गीतले राष्ट्रभावका साथ नेपालको त्यो बेलाको कृषिमा आधारित अर्थतन्त्र र नेपाली राष्ट्रवादको व्याख्या गरिएको छ । जसले विश्वभरका नेपालीहरूलाई समेटेको छ,’ मन्त्री पाण्डेले भन्नुभयो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार वैरागी काँईलाले गायक थापाले राष्ट्रभावलाई केन्द्रमा लोक गीत र लोक साहित्यको पहिचान र प्रवद्र्धनमा महत्वपुर्ण योगदान गरेको बताउनुभयो । संस्कृतिविद् डा जगमान गुरुङले नेपाली समाज र संस्कृतिमा सामाजिक सद्भाव रहेको भन्दै नेपालको भाषा र संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

प्रा डा प्राध्यापक अभि सुवेदीले लोक साहित्य र संस्कृतिलाई विश्वभर पुर्याउन महत्वपुर्ण योगदान रहेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले नेपाली वाङ्मयको उत्थान प्रवर्धनका साथै स्रष्टाको सम्मानमा प्रतिष्ठानले भूमिका खेल्दै आएको बताउनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले ५० हजार रुपैयाँ राशिको धर्मराज सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार २०८० साहित्यकार वैरागी काँइला र धर्मराज सावित्री थापा लोकगीत सङ्गीत पुरस्कार एलपी जोशीलाई प्रदान गर्नुभयो ।