काठमाडौं, २ असार । सोमबार बिहानै रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठको ‘सबैलाई अल बिदा’ लेखेको स्ट्याटस सामाजिक सञ्जाल फेसबुकमा आयो ।
सुसाइड नोटको शैलीमा लेखिएको सो स्ट्याटसले सबैलाई सशङ्कित बनायो । आफूले रामेछाप अस्पताललाई व्यवस्थित बनाउन सङ्घर्ष गर्दा गर्दै आफ्नो विरुद्ध झुटो आरोप लगाइएको, आफूसँग पैसा मागेको, महिला डाक्टरहरूलाई प्रयोग गरेर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको, आर्थिक चलखेल गरेको लगायतका आरोप लगाएर डा. श्रेष्ठले लामो स्ट्याटस लेख्नु भएको थियो ।
उहाँले त्यसमा नेपाली कांग्रेस पार्टीका स्थानीय नेता रामेछाप नगरपालिका–८ का पूर्ववडाध्यक्ष केदार कार्कीको नाम सबैभन्दा बढी लिनु भएको थियो । कार्कीले धम्क्याएकोदेखि पैसा मागेकोसम्म स्ट्याटसमा लेखिएको थियो ।
श्रेष्ठले मन्त्रालयका प्रशासन शाखा प्रमुख कुमार पौडेलदेखि मन्त्रालयका कर्मचारी रेवती थापालाई समेत आर्थिक चलखेल गरेर आफूलाई सरुवा गरेको आरोप लगाउन भ्याउनु भएको छ ।
खासमा के थियो लफडा ?
डा. केशव श्रेष्ठ आठौँ तहका मेडिकल अधिकृत हुन् । प्रदेशले सञ्चालन गरेको जिल्ला अस्पतालमा कम्तीमा पनि नवौँ तहको मेडिकल अधिकृत कार्यालय प्रमुख हुने गर्दछ । आठौँ तहका केशव १८ महिनादेखि रामेछाप अस्पतालमा निमित्त प्रमुख भएर काम गर्दै आउनुभएको थियो ।
यस बिचमा प्रदेश सरकारले नवौँ तहको मेडिकल अधिकृतलाई रामेछाप अस्पताल पठाएको पनि हो । तर डा. श्रेष्ठले स्थानीयलाई घेर्न लगाएर अस्पतालमा हाजिर हुन नदिएर नवौँ तहका अधिकृतलाई रामेछाप अस्पताल छाडेर जान बाध्य गराएका थिए ।
माथिल्लो योग्यता भएका डाक्टरहरू हुँदा हुँदै लामो समयदेखि निमित्तको भरमा अस्पताल चलिरहेको थियो । माथिल्लो योग्यताको डाक्टर आउने कुरा थाहा पाउने बित्तिकै शक्तिकेन्द्रहरूमा धाएर श्रेष्ठले उहाँहरूको सरुवा रोक्दै आउनु भएको थियो ।
राजनीतिक अस्थिरताको लाभ उठाउँदै श्रेष्ठ कांग्रेस, एमाले, माओवादी सबै पार्टीका नेताहरुकोमा पुग्दै म तपाईँकै मान्छे हुँ भन्दै आफ्नो स्वार्थ पुरा गर्दै आउनु भएको थियो । रामेछाप बजारमा भने अहिले उहाँले जसलाई आरोप लगाइरहनुभएको छ उहाँहरूकै साथ र सहयोग लिएर डा. श्रेष्ठले एकलौटी राज गर्ने राजनीति बनाउनुभएको थियो ।
जब डा. श्रेष्ठसँग संरक्षण गर्नेहरूकै खटपट भयो । अरू सबै चिढ्याइ सकेको कारण चिढिएकाहरूबाट सहयोग हुने कुरै भएन । त्यस पछि डा. श्रेष्ठको राजनीतिले काम गरेन ।
अझ महिला स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गरेको लिखित उजुरी समेत परेपछि वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले २४ घण्टे पत्र काटेर प्रदेश स्वास्थ्य मन्त्रालयमा झिकायो ।

मन्त्रालयमा जाँदा पनि डा. केशव एक्लै जानुभएन । अस्पतालको अति संवेदनशील डाइग्लोसिस सेवा प्रभावित हुने गरी सो सेवाका डाक्टरहरू समेतलाई गाडीमा हालेर लिएर जानुभयो ।
मन्त्रालयमा पुग्नु भएका श्रेष्ठलाई मन्त्रालयले हेटौँडा अस्पतालमा सरुवा गर्यो । रामेछापमा अर्को मेडिकल सुपरिटेन्डेन्ट पठाउने निर्णय गर्यो । रामेछापमा प्रमुख भएका श्रेष्ठलाई त्यो कुरा सह्यै भएन । आर्थिक वर्षको अन्तिममा आर्थिक चलखेल गरेर आफूलाई सरुवा गरिएको आरोप उहाँले मन्त्रालयका कर्मचारीलाई फेसबुक मार्फत लगाउनुभयो । जसलाई अब श्रेष्ठले प्रमाणित गर्नुपर्ने छ ।
हेटौँडाबाट काठमाडौं अल बिदा शिर्षककाे नाेट, अनि माेबाइल स्विच अफ
हेटौँडा पुग्नु भएका डा. श्रेष्ठ काठमाडौं आउनुभयो र सुसाइड नोटको स्ट्याटस फेसबुकमा राख्नु भयो । आफू माथि अन्याय भएकोले बाँच्ने आधार नै नभएको लेख्नुभयो । त्यति मात्र होइन आफ्नो लास माथि राजनीति नगर्न भन्दै लेख्नु पनि भ्याउनुभयो । त्यति लेखेर श्रेष्ठले मोबाइल अफ गर्नुभयो ।
स्ट्याटस लेखेर मोबाइल अफ गरेपछि हल्लाखल्ला भयो । खोजी गर्न प्रहरी परिचालित भयो । प्रहरीले मोबाइल ट्रयाकिङ गर्दा लोकेसन काठमाडौंमा देखायो ।
प्रहरीले खोजी गर्दै जाँदा सुसाइड नोट लेखेका डाक्टरलाई क्याफेमा साथीहरूसँग कफी खाएर बसिरहेको अवस्थामा फेला पार्यो । श्रेष्ठलाई काठमाडौंको तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ वुटिक रिसोर्टमा कफी खाइरहेको अवस्थामा प्रहरीले भेट्टायो ।
प्रहरीले भेट्नासाथ ‘तपाईँ यहाँ किन ?’ भनेर सोध्दा श्रेष्ठको जवाफ थियो ‘मर्न आएको ।’
फेरी प्रहरीले सोध्यो ‘जिउँदै हुनुहुन्छ त ?’ उहाँको जवाफ थियो ‘डोरी पाइएन ।’
केही घण्टा प्रहरी, प्रशासन, मन्त्रालय, परिवार सबै तनावमा परे । शुभेच्छुक र शुभचिन्तकहरू चिन्तामा डुबे । ‘केही बेर तनाव भयो, तर छिट्टै अवस्था सार्वजनिक भयो’, वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले भन्नुभयो ।
कर्मचारीहरूको सरुवा, बढुवा, स्पष्टीकरण वा गलत गर्दा कारबाही नियमित प्रक्रिया हो । एउटा जिम्मेवार डाक्टरले आफ्नो सरुवाको विषयलाई लिएर वा मन्त्रालयले केही उजुरी माथि छानबिन र बुझ्नको लागि मन्त्रालय बोलाउँदा वा पत्र काट्दा यो तहसम्मको काम गर्नु डाक्टर माथि राजनीति कि डाक्टरको राजनीति ?
यस्ताे थियाे स्ट्याटस :
मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो। संघर्ष-संघर्षैमा डाक्टर पढ़े, करारको जागीर हुदै नेपाल प्रहरी हुदै अहिलेको बागमती प्रदेशको लोकसेवा बाट नाम निकाले ।
करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेंट भएर चलाउने मौका पाए। दिन-रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे।म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, system मा नबस्ने कर्मचारीहरूको भागा-भाग हुन थाल्यो ।
डा गगन अधिकारी रामेछाप अस्पताल बाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धम लगाई नै राख्यो, तर म डटेर नै काम गरे ।एउटा ब्यबस्थित अस्पताल बनाए पनि, हरेक कुरालाई system मा लिएर आए ।
केदार कार्कीले(रामेछाप-०८) मागेको पैसा नदिदा अनि उसले भनेको कार्यालय सहयोगी लाई जागीर नलगाउदा उसको नेतृत्वमा मैले कार्यवाही (स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरु २ जना महिला डाक्टर)गरेका डाक्टरहरू लाई प्रयोग गरेर अहिले मलाई बिभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराए। एप्रन (apron)किन नलगाएको भनेर एक जना डाक्टर लाई प्रश्न मात्र गरेको थिए म माथी मुख-मुखै लागेर morning conference मा प्रस्तुत भई । तेही डाक्टरले तेही दिन केदार कार्की लाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्रकायो र मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाड़ी, ३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्कि दिएर हिड्यो ।
केदारले भनेको बामोजिम अस्पताल चलाउनु पर्ने, उसले खाएको होटलको बिल तिर्नु पर्ने ,विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनु पर्ने । आफ़नो कार्यकक्षमा नबस्ने, आफ़नो बाउको राजनीति power को दम्भ देखाउने, बाहिर lab संग CD/RPD को comission को deal गर्ने, पटक-पटक भन्दा पनि आफ़नो कार्यकक्षमा नबस्ने गरेको पाए पछि लिखित स्पष्टीकरण सोधे। तेही स्पष्टीकरण सोधिएका हरू लाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साधेर मेरो बिरुद पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड़न बाध्य बनाईयो ।
अब भोलीको दिनमा स्पष्टीकरण खाएका, कार्यवाहीमा परेका करारका ४,५ जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे भने अरु अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने?मैले आफ़नो कुरा राख़्न खोजे तर सुनुवाई कतै भएन । न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको साचिबले नै सुन्नु भयो ।
शरीरमा १६ ओटा टाका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य पारियो, बिहान ४ बजे काठमाण्डौ आईपुगे अनि ८ बजे फेरी हाजिर हुन काठमाण्डौ बाट हेटौडा लागे । नया आएको निमित मेसू लाई हाजिर गराउन CDO कार्यालयमा call गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाको लागी चाही किन CDO लाई call गरिएन? २०८२/०२/२८ गते दिउसो ३ बजे छानबिन समिति अस्पताल आउने अनि १ घण्टा पछी ४ बजे तिर मेरो सरुवा को पत्र अनि फेरी २४ घण्टामा मन्त्रालय हाजिर हुन आउनु भन्ने? यो कत्तीको न्यायोचित छ?
हेटौडा पुगे पछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानबिय व्यवहार गरि मैले बर-बुझार्थ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरेको लाई गाड़ी मा रामेछाप पठाईयो , मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अल्पत्र पारे। सरुवा गरिएको छ हेटौडा अस्पतालमा तर हाजिर गराईएको छ मन्त्रालयमा। मलाई धेरै दुख दिए, अहिले यो दुख/पिड़ा सहन अनि सोचन पनि सकेको छैन। मैले ज़िन्दगी बाट नै हार खाए। कतै बाट केही साथ/सहयोग पाउन सकिन।
डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । म बाचे भने न्याय पाउछु जस्तो लागेन। असत्यको जित भएको पनि मुर्गदर्शक भएर बस्न पनि मन लागेन ।
मैले बाचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कार्यवाही गर्ने, का.स.मू मा थोरै अंक दिने गर्ने थिए होलान, म सानो कर्मचारी भनेर मेरो आवाज दबाउने कोसिस गर्ने थिए होलान ।म मानसिक रूपमा कमजोर हुन पुगे, अहिले बििक्षपत हुन पुगेको छ। one man army भनेर चिनिएको थिए अहिले आएर हार खाए ।
मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी । हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे, एक्लै लड़ने मान्छे आज आएर गलि सकेको छु। मलाई साथ दिएर यहा सम्म लिएर आउने डा अनिल कार्की , बद्री खड़का sir, माननीय उत्तम जोशी sir हजुरहरू लाई धेरै धन्यवाद छ। तपाईहरूले दिएको जिम्मेवारी ईमानदारीका साथ निर्वाह गरि अस्पताल बनाए।
तर आज आएर मैले ग़ल्ति बिनाको सजाय भोगेको छु।आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरू ले कानून बमोजिम सजाय नपाए सम्म मेरो आत्माले शान्ती पाउने छैन।दुर्गममा २ वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाए(१५ बेडमा नेपालको उत्कृष्ट तेस्रो अनि अहिले ५० बेडको हुदा बागमती को दोस्रो)अहिले पुरस्कृत हुनु पर्नेमा कार्यवाही खाएको छु ।
नेपालमा नै केही गरौ भनेर बसेको अहिले पश्चाताप लागेको छ । यथार्थ के हो भन्ने कुरा छबि sir (अस्पताल प्रशासन), बसन्त, डोर बहादुर सर तपाई हरू लाई थाहा छ, भोली परेको बेला यथार्थ कुरा बोलिदिनु होला । यही हो यथार्थ कुरा, धेरै ले बुझ्न, सुन्न नै खोजनु भएन ।मेरो लाश माथी राजनीति नहोस तर यी अपराधीहरू लाई कानूनको कठघरामा लिएर आउन सबै लाई अनुरोध गर्दछु ।
फेरी पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाई-बुहारी, बहिनी अनि भान्जी
प्रतिक्रिया दिनुहोस्