जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार १३:५९

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो, अझै बढन सक्ने प्रहरीको अनुमान


सिन्धुपाल्चोक, असोज २४ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० मा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य पाँच जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये धुलिखेल अस्पतालमा अन्य २५ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिनुभयो ।

दुर्घटनामा ५० बढी घाइते भएको अनुमान गरिएको छ। बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार मृतकमध्ये पाँचजनाको सनाखत भएको छ। सनाखत भएकाहरुमा इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटी रहेका छन । दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखभ भएकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन्। घाइतेको एम्बुलेन्स र हेलिकप्टरबाट उद्धार भइरहेको छ । प्रदेश ३ का सामाजिक सुरक्षामन्त्री युवराज दुलाल आफै हेलिकोप्टर लिएर घटनास्थलमा घाइतेको उद्धारका लागि पुग्नुभएको छ ।