जनता टाइम्स

२८ श्रावण २०८१, सोमबार ००:०८

जनताको शक्तिसामू झुक्न बाध्य बने धरानका मेयर हर्क साम्पाङ, खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता


सुनसरी, साउन २८ । धरानमा खानेपानीको शुल्क र महसुल बढाइएपछि आन्दोलनरत विभिन्न १० राजनीतिक दल र धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङबीच ३ बुँदे सहमति भएको छ ।

तीन सातादेखि चरणबद्ध आन्दोलनमा रहेका दल र नगरप्रमुख साम्पाङबीच आइतबार भएको ६ घण्टा लामो वार्तापछि सहमति भएको हो । सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र एक साताभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । सहमतिबारे आज सर्वदलीय बैठक बसेर पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने दुवै पक्षले जनाएका छन ।

आइतवार दिउँसो साढे २ बजेदेखि सुरु वार्ता रातिसम्म पनि सहमति नहुने संकेत देखिएपछि उपमहानगर कार्यालय बाहिर धर्नामा बसेका उपभोक्ता तथा राजनीतिक दलका कार्यकर्ताहरूले वार्ता टोलीलाई भित्रै थुन्ने तयारी गरेका थिए । त्यसपछि दबाबमा परेका वार्ताकर्ताहरु सहमति गर्न बाध्य भएका हुन ।

वार्तामा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष तथा नगरप्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा, १८ नम्बर वडाका अध्यक्ष नरेन्द्रकुमार राई, आन्दोलनरत दलहरूबाट नेपाली कांग्रेसका श्याम पोखरेल, नेकपा एमालेका हर्कजंग एभेङ, माओवादीका चोत्लुङ, जसपाका सुमन चेम्जोङ, नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई, रास्वपाका ठाकुरबहादुर कार्की हुनुहुन्थ्यो । यस्तै दलहरूबाट वार्तामा नागरिक उन्मुक्ति पार्टीका अमर इजम, संघीय लिम्बुवानका मोहनकुमार तिगेला, राष्ट्रिय साझा पार्टीका भूपि कोयू पनि सहभागी हुनुभएको थियो ।

साउन ११ गते धरानमा क्रियाशील राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि दलहरूले चरणबद्ध आन्दोलन गरेका हुन ।

खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरिएपछि आन्दोलनरत पक्षले विभिन्न सरोकारवाला संघसंस्थाहरूसँग अन्तरक्रिया, वडा कार्यालयहरूमा ध्यानाकर्षण र खानेपानी बोर्डको धरान कार्यलयमा धर्ना तथा तालाबन्दी गरेका थिए ।

तर तालाबन्दी नगर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि खानेपानी बोर्डमा लगाएको ताला खोली उनीहरुले बिहीबारदेखि धरान उपमहानगरपालकिाको कार्यालय केन्द्रित आन्दोलन चर्काएका थिए । आन्दोलन चर्किएपछि नगरप्रमुख साम्पाङ आफ्नो निर्णयबाट पछि हटनुभएको हो ।