जनता टाइम्स

२३ भाद्र २०८१, आईतवार २०:१९

टेलिकमलाई थप उचाइमा लैजान सम्पूर्ण उर्जा खर्चिने नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडीको प्रतिवद्धता


काठमाडौं, भदौ २३ । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा पहाडीलाई चार बर्षका लागि नियुक्त गरेको हो । उहाँले आज टेलिकमको केन्द्रीय कार्यालयमा पदबहाली गर्नुभयो ।

पदबहालीको क्रममा पहाडीले सरकारले जुन बिश्वासका साथ जिम्मेवारी दिएको हो, त्यसलाई पूरा गर्दै संस्थाको प्रतिष्ठा थप उचाईमा पुर्याउने अठोट गर्नुभयो । पहाडी यसअघि गत २०८० मंसीर १७ गतेबाट टेलिकमका् निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गर्नुभएको छ । उहाँले २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभई २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिनुभएको थियो भने २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त हुनुभएको थियो ।

पदभार ग्रहण गरेपछि पहाडीले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै भन्नुभयो, ‘पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने छु ।’