सेभिल्ला (स्पेन), १५ असार । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आज दुईपक्षीय भेटवार्ता भएको छ ।
स्पेनको ऐतिहासिक सहर सेभिल्लामा आयोजित उक्त उच्चस्तरीय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुका साथै द्विपक्षीय सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन, पर्यटन, जलवायु परिवर्तन र नवीकरणीय ऊर्जाका क्षेत्रमा सहकार्यका सम्भावना लगायत विषयमा प्रधानमन्त्री साञ्चेजसँग छलफल गर्नुभएको हो । भेटमा दुवै नेताले पारस्परिक हितका विविध विषयमा गहन संवाद गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दुई नेताबिचको भेटवार्तामा विशेष गरी विकास सहकार्य, जलवायु वित्त, हरित प्रविधिको स्थानान्तरण तथा शिक्षा र रोजगारीको अवसरका विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नेपालका पूर्वाधार निर्माण, पर्यटन पूर्वाधार, जलविद्युत् तथा कृषि क्षेत्रमा स्पेन सरकार र निजी क्षेत्रको लगानीका लागि आग्रह गर्नुभएको थियो ।
भेटवार्तामा द्विपक्षीय कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने, उच्चस्तरीय भ्रमण आदानप्रदानलाई नियमित बनाउने तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आपसी सहकार्य अभिवृद्धि गर्ने विषयमा सहमति बनेको बताइएको छ । प्रधानमन्त्री ओलीसँगै उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल स्पेन भ्रमणमा छ ।
प्रतिक्रिया दिनुहोस्